नेपालले हालसम्म एक करोड पाँच लाख ९५ हजार आठ सय ५० कोरोनाविरुद्धको खोप प्राप्त गरेको छ । यसरी हेर्दा ६० लाख ६५ हजार तीन सय ५० नागरिकले पूर्ण मात्रा लगाउनुपर्ने खोप आइसकेको देखिन्छ । तर शनिबारसम्म देशभर २२ लाख सात हजार नौ सय ५५ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।हालसम्म नेपालले भेरोसिल ५८ लाख मात्रा, कोभिसील्ड २४ लाख ४८ हजार मात्रा, जोन्सन एण्ड जोन्सन १५ लाख ३४ हजार आठ सय ५० मात्रा र एष्ट्राजेनेका आठ लाख १३ हजार मात्रा प्राप्त गरेको हो । जोन्सन एण्ड जोन्सन एक मात्रा लगाए हुने खोप हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चैतभित्र आम नेपाली नागरिकलाई पूर्ण खोप लगाइसक्ने योजना बनाएको छ ।स्वास्थ्य राज्य मन्त्री उमेश श्रेष्ठले खोप पहिलो प्राथमिकता रहेको बताएका छन् । नेपालले सर्वप्रथम ८ माघ २०७७ मा भारत सरकारबाट उपहार स्वरूप १० लाख मात्रा खोप प्राप्त गरेको थियो । त्यसपछि क्रमशः नेपालमा खोप भित्रिन थालेको हो । सरकारले दुई करोड ६५ लाख नागरिकलाई खोप लगाउने लक्ष्य लिएको छ ।सरकारले आगामी साउन २५ देखि ३२ सम्म खोप सप्ताह र साउन २३ देखि २९ सम्म नेपाल मास्क अभियान सञ्चालन गरेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार खोप सप्ताहमा कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएका र दोस्रो मात्रा लगाउन बाँकी १३ लाख ६५ हजारलाई दोस्रो मात्रा खोप लगाउने सरकारको तयारी छ । हाल देशभर कोरोना विरुद्धको खोप अभियान सञ्चालन भइरहेको छ ।
खोप केन्द्रहरूमा हुने भीड व्यवस्थापन गर्न स्थानीय तह र स्वास्थ्य संस्थाहरूलाई सरकारले आग्रह गरेको छ । स्वास्थ्य तथा मन्त्रालयले जनस्वास्थ्यका मापदण्ड कडाइका साथ पालना गरी खोप केन्द्रहरूमा हुने भीड व्यवस्थापन गर्न आग्रह गरेको हो ।
कतिले लगाए अहिलेसम्म खोप ?
नेपालमा साउन १७ गतेसम्म १८ लाख १३ हजार ४ सय ७१ जनाले कोभिड १९ विरुद्धको दुवै डोज खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक रहेको छ ।
त्यस्तै ४० लाख ६४ हजार २ सय ८८ जनाले पहिलो डोज खोप लगाएका छन् ।
उमेर समूह तथा जोखिममा रहेका वर्गहरुको प्राथमिकताका आधारमा अब आउने खोप वितरण गरिने स्वास्थ्य सेवा विभाग अन्तर्गत परिवार कल्याण महाशखाले जनाएको छ ।
प्रतिक्रिया