स्वास्थ्य सुरक्षाको माग गर्दै परीक्षार्थी प्रदर्शनमा उत्रिए

काठमाडौं, २२ साउन ।   स्वास्थ्य सुरक्षाको माग गर्दै कोरोना महामारीका बेला करिब नौ सय विद्यार्थीलाई पाटन क्याम्पसमै राखेर परीक्षा चलाएको विरोधमा परीक्षार्थी प्रदर्शनमा उत्रिएका छन् । कोभिड-१९ संक्रमणको जोखिमलाई न्यूनीकरण गर्न सरकारले तोकेको स्वास्थ्य मापदण्ड शैक्षिक संस्थाहरुले उल्लंघन गर्दै शरीरको तापक्रम जाँच नगरेको, एउटै कक्षामा ६० जना विद्यार्थी राखेपछि पाटन क्याम्पस परीक्षा केन्द्रमा विद्यार्थीले प्रदर्शन गरेका थिए ।लितपुरस्थित पाटन बहुमुखी क्याम्पसमा शुक्रबार विद्यार्थीहरू बेग्लै तनावमा देखिए। परीक्षा दिन गएका उनीहरूको हातमा कलम मात्र थिएन( ‘नो भ्याक्सिन, नो एक्जाम’ लेखिएका प्लेकार्ड थियो।
पाटनमा समाजशास्त्र संकायअन्तर्गत स्नातकोत्तर तह तेस्रो सेमेस्टरको परीक्षा चलेको शुक्रबार दोस्रो दिन हो। कोरोना महामारीका बेला करिब नौ सय विद्यार्थीलाई पाटन क्याम्पसमै राखेर परीक्षा चलाएको विरोधमा परीक्षार्थी प्रदर्शनमा उत्रिएका हुन्।
आज दिउँसो १ बजेदेखि परीक्षा सुरू हुँदै थियो। तर १२ बजेदेखि नै विद्यार्थीहरू परीक्षा केन्द्रमा स्वास्थ्य मापदण्ड लागू गरिनुपर्ने मागसहित प्रदर्शनमा उत्रिएका थिए।उनीहरूले विद्यार्थीलाई कोरोनाविरूद्ध खोप लगाउनुपर्ने माग राखेका छन्।

‘विद्यार्थीको देश खोइरु डन्ट प्ले इन स्टुडेन्ट लाइफ, नो भ्याक्सिन नो एक्जाम, विद्यार्थीको स्वास्थ्य र जीवनमाथि खेलबाड गर्न बन्द गर र स्वास्थ्य मापदण्ड लागू गर’ भन्दै विद्यार्थीले प्रदर्शन गरेका थिए।

कक्षाकोठा कम भएको पाटन क्याम्पसमा समाजशास्त्रका विद्यार्थीलाई राखिएको थियो। ‘त्रिवि, पिके, पाटन, आरआरलगायत समाजशास्त्र पढाइ हुने क्याम्पसका विद्यार्थी सबैलाई पाटनमै एकै केन्द्रमा राखेर परीक्षा लिइएको हो। यसले गर्दा सामाजिक दूरी कायम त भएन नै स्वास्थ्य मापदण्ड पनि पालना नभएको एक विद्यार्थीले बताए । त्रिविले स्नातक तहका विद्यार्थीलाई भने होम सेन्टरमै परीक्षा चलाएको छ। तर स्नातकोत्तर तहलाई भने एकै केन्द्रमा राखेर परीक्षा लिइएको छ। ती विद्याथीले भने । विद्यार्थीले परीक्षा केन्द्रमै प्रदर्शन गरेको थाहा पाएपछि त्रिवि समाजशास्त्र विभागबाट अनुगमनका लागि पदाधिकारीहरू आज पाटन क्याम्पस पनि पुगेका थिए।

‘स्नातकोत्तरका विद्यार्थीलाई होम सेन्टरमा नराख्ने नीतिअनुसार एकै क्याम्पसमा विद्यार्थी राख्दा भिडभाड देखियो। यो सच्याउनुपर्ने छ,’ अनुगमनमा पुगेका एक पदाधिकारीले भने। ती पदाधिकारीका अनुसार गत वर्ष कोरोना जोखिमका बेला परीक्षा लिँदा धेरै परीक्षा केन्द्र थिए। समाजशास्त्रकै परीक्षा पनि एक बेन्चमा एक विद्यार्थी राखेर त्रिविलगायत केन्द्रबाट लिइएको थियो।

धेरै कक्षाकोठा भएको त्रिविमा यसपटक समाजशास्त्रको परीक्षा केन्द्र नै राखिएन। यसमा समाजशास्त्र डिन कार्यालय र विभागीय प्रमुखबाट कमजोरी भएको परीक्षार्थीहरू बताउँछन्। मानविकी तथा समाजशास्त्र संकायकी प्रमुख प्रा.डा. कुसुम शाक्यले क्याम्पस प्रमुखलाई यो विषयको व्यवस्थापन गर्न निर्देशन दिएको बताएकी छन् । शाक्यले भनिन्, ‘विद्यार्थीको प्रदर्शनपछि क्याम्पस प्रमुखलाई फोन गरेर व्यवस्थित बनाउन निर्देशन दिइएको छ ।’
विद्यार्थी धेरै भएको र क्याम्पसका भवनहरु पनि पुरानो ढंगबाट निर्माण भएकाले कोठा साँघुरो भएकाले यस्ता समस्या भएको हुनसक्ने उनले बताइन् । विद्यार्थीले स्वभाविक विषय उठान गरे पनि विद्यार्थी आफैं पनि सचेत हुनुपर्ने उनको भनाइ छ । ‘विद्यार्थीले एकदम स्वभाविक विषय उठाएका छन् । तर विद्यार्थी आफैं पनि सचेत हुनुपर्छ,’ उनले भनिन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति