काठमाडौं, २२ साउन । नेकपा माओवादी केन्द्रले सुकुम्बासी, भूमिहीन किसान, दलित तथा अव्यवस्थित वसोबास समस्या समाधान गर्न उच्चस्तरीय आयोग गठन गर्न माग गरेको छ । शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले सुकुम्बासी समस्या समाधानका लागि आयोग गठनको माग गरेको हो । ‘संविधान र कानुनअनुरूप यथाशक्य चाँडै भूमि आयोग बनाउन सरकारलाई आग्रह गर्ने निर्णय भएको छ,’ स्थायी समिति सदस्य गिरिराजमणि पोखरेलले भने, ‘आयोग बनाएर नयाँ ढंगले काम गर्नुपर्ने आवश्यकता छ ।’ अघिल्लो सरकारले गठन गरेको आयोग यसै साता सरकारले खारेज गरेको थियो । आयोग खारेज गरिएकामा तीव्र आलोचना भएको थियो । स्थायी समिति बैठकले लुम्बिनी प्रदेश सांसद विमला वलीलाई ‘अपहरणको शैली’ मा मुख्यमन्त्री शंकर पोखरेलको निवासमा राख्नु आपत्तिजनक, लज्जास्पद भएको निष्कर्ष निकालेको छ ।
प्रतिक्रिया