चिकित्सकलाई दुर्व्यवहार गरेको आरोपमा अस्पताल सञ्चालक समिति सदस्य पक्राउ

काठमाडौं, २२ साउन ।  मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत हेटौंडा अस्पतालमा कार्यरत चिकित्सकमाथि अश्लील शब्द बोलेको र दुर्व्यवहार गरेको आरोपमा शुक्रबार दिउँसो सञ्चालक समिति सदस्य पक्राउ परेका छन् । महिला चिकित्सकमाथि नशाको तालमा अश्लील शब्द बोलेको र दुर्व्यवहार गरेको आरोपमा अस्पताल सञ्चालक समिति सदस्य हिरा वाइबालाई मकवानपुर प्रहरीले पक्राउ गरेको हो ।

१६ साउनमा भीमफेदी गाउँपालिकाको त्रिखण्डीमा प्रतिष्ठानको आयोजनामा भएको वनभोज कार्यक्रममा मदिरा सेवा गरेर व्यवहार गरेको आरोप महिला चिकित्सकहरुले लगाएका छन् । वनभोजमा मादक पदार्थ सेवन गरेर वाइबाले महिला चिकित्सकमाथि ‘अश्लील शब्द बोल्ने र दुर्व्यवहार गरेको’ भन्दै पीडित चिकित्सकहरुले प्रहरीमा उजुरी दर्ता गराएका हुन् ।

उनीहरुले घटनाको विषयमा प्रहरीलाई मौखिक जानकारी गराएको भए पनि उजुरी नआएसम्म पक्राउ गर्न नमिल्ने भन्दै प्रहरी पन्छिदै आएको पीडितहरुको आरोप छ । ‘बिहीबार उजुरी दर्ता भयो । हामीले शुक्रबार पक्राउ गर्‍यौं । मौखिक जानकारीको भरमा समात्न मिलेन । उजुरी पर्नेबित्तिकै हामीले पक्राउ गरेका हौं ।’, मकवानपुरका प्रहरी उपरीक्षक सोमेन्द्रसिं राठौरले वाइबालाई अभद्र व्यवहारमा मुद्दा चलाउने तयारी भइरहेको बताए ।

पीडित चिकित्सकहरुले वाग्मती प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सामाजिक विकास मन्त्रालय, जिल्ला प्रशासन कार्यालय मकवानपुर, जिल्ला प्रहरी कार्यालय र प्रतिष्ठान उपकुलपतिको कार्यालयमा उजुरी दिएका थिए । प्रतिष्ठानको अध्यक्ष मुख्यमन्त्री रहने व्यवस्था छ । मुख्यमन्त्री पौडेलले पार्टीभित्रको विवाद चरमोत्कर्षमा पुगेको समयमा आफू निकट वाइबालाई समिति सदस्यमा मनोनित गरेका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति