काठमाडौँ, २२ साउन । नेकपा (एमाले) ओली पक्षले एकताको नाममा पार्टीका कुनैपनि गतिविधी नरोकिने जनाएको छ । प्रवक्ता प्रदीपकुमार ज्ञवालीले एकताका नाममा पार्टीका काम रोक्न नसकिने बताएका हुन । माधवकुमार नेपाल पक्षले पार्टीका सबै काम रोकेर एकताको वातावरण बनाउन भनिरहेको अवस्थामा अध्यक्ष केपी शर्मा ओली पक्षले भने पार्टी गतिविधि रोक्न नसकिने जवाफ दिएको हो । विधान संशोधनमा समेट्नुपर्ने विषयबारे छलफल गर्न अध्यक्ष ओलीले बोलाएको स्थायी कमिटीका सदस्य, प्रदेशका नेताहरू, विधान संशोधन समिति र राजनीतिक प्रस्ताव तयार पार्न गठित समितिका सदस्यहरूको बैठकपछि ज्ञवालीले उक्त कुरा बताएका हुन् ।नेता नेपाल पक्षले एकताका लागि पार्टी गतिविधि रोक्न माग गरेको छ तपाईंहरू के गर्नुहुन्छ भन्ने प्रश्नको जवाफमा ज्ञवालीले भने, पार्टीका नियमित काम अघि बढ्छन् । छलफलको नाममा पार्टी कामलाई रोक्ने, गतिरोधमा जाने भन्ने हुन्न ।स्थानीय तहको चुनाव नजिक आइरहेको, पार्टी महाधिवेशन गर्नुपर्ने अवस्थामा पार्टीका काम रोक्न नसकिने ज्ञवालीले बताए । पार्टी गतिविधि रोक्नुपर्ने माग एमालेको हितमा नभएको पनि उनको भनाइ थियो ।सत्ता पक्ष आक्रामक रूपमा अघि बढेकाले प्रमुख प्रतिपक्षी आफ्ना काम रोकेर बस्न नसक्ने पनि ज्ञवालीको भनाइ थियो ।पार्टीको विधानलाई संघीय संरचनामा कसरी लैजाने भन्नेबारे नेताहरूले सुझाव दिएको र सोहीअनुसार आगामी केन्द्रीय कमिटीको बैठकले प्रस्ताव तयार पारेर तल्लो तहका कमिटीसम्म छलफलका लागि लैजाने पनि ज्ञवालीले जानकारी दिए ।
एकता छलफलको नाममा पार्टीका काम रोकिँदैन – प्रवक्ता ज्ञवाली
प्रतिक्रिया