बागलुङको नारायणस्थानमा साउन ३१ गतेसम्मका लागि निषेधाज्ञा जारी

बागलुङ, २१ साउन – बागलुङ नगरपालिका–१४ नारायणस्थानमा दश दिनका लागि निशेधाज्ञा जारी भएको छ । बिहिबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बैठकको सिफारीसको आधारमा जिल्ला सुरक्षा समितिले आउँदो साउन ३१ गतेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो ।

वडा कार्यालयको अनुरोधमा बागलुङ नगरपालिकाले निशेधाज्ञाका लागि सिफारीस गरेको थियो । अत्यावश्यक सेवा बाहेकका सबै सेवा बन्द गर्नेगरी निषेधाज्ञा जारी भएको प्रमुख जिल्ला अधिकारी शिव कुमार कार्कीले बताए । गत बैशाख ८ गते जिल्ला सुरक्षा समितिको बैठकले बाग्लुङ नगरपालिकाको वडा नं १२, १३ र १४ मा यो बर्ष पहिलो पटक निषेधाज्ञा जारी गरेको थियो । साउनको तेस्रो सातासम्म आउँदा केही जिल्लाभर निषेधाज्ञा भएर केही खुकुलो भएको थियो । बिहिबार रातीबाट लागुहुने गरी नारायणस्थानमा पुन कडाई गरिएको हो । निषेधाज्ञाको समयमा खाद्यान्न, तरकारी, दूध, औषधी, दाना ढुवानी तथा एम्बुलेन्स सेवा कृषि तथा पशु उत्पादन, मल विउ, स्वास्थ्य सेवा र विपद व्यवस्थापन सेवा तथा अत्यावश्यक सरकारी सवारी साधनबाहेकका गाडी चल्न रोक लगाइएको छ ।बाग्लुङ नगरपालिकाको वडा नं १४ मा संघसंस्था, बैंक तथा वित्तीय संस्था, सहकारी कार्यालय र वडा कार्यालय पनि बन्द गरिएको छ । यस क्षेत्रमा बाहिर हिँडडुल गर्न पनि रोक लगाइएको छ । नारायणस्थानमा ४४ जनामा एकैपटक संक्रमण पुष्टि भएको थियो । संक्रमितमध्ये एक जनाको कोभिड–१९ का कारण पोखरा स्थित गण्डकी मेडिकल कलेजमा मृत्यु भएको वडाअध्यक्ष चक्रबहादुर खत्रीले जानकारी दिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति