‘गरिबीको रेखामुनि रहेकालाई निःशुल्क बिजुली दिने गरी तयारी अगाडि बढाएको छु’

काठमाडौं, २१ साउन । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले गरिबीको रेखामुनि रहेका नागरिकलाई निःशुल्क विद्युत् उपयोग गर्न दिइने बताएकीछन् । आज बिहीवार मन्त्रालयमा पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीहरूसँगको छलफलमा मन्त्री भुसालले आफूले गरिबीको रेखामुनि रहेका नागरिकलाई निःशुल्क विद्युत् उपभोग गर्न दिने गरी तयारी अगाडि बढाएको बताएकी हुन । विद्युतको घरेलु उपयोग जसले बढी गर्छ उसलाई विद्युत् महसुल पनि कम गर्ने गरी आफूले तयारी गरिरहेको मन्त्री भुसालको भनाइ छ । उनले भनिन् ‘गरिबीको रेखामुनि भएका आधारभूत नागरिक, उनीहरूलाई कही राहत दिनुपर्छ भनेर निःशुल्क विद्युत् दिने गरेर एउटा तयारी मैले गरिरहेको छु । झन्डै–झन्डै हामी त्यसको निष्कर्षमा पुग्दैछौँ । घरेलु उपभोग बढाउनका लागि जसले बढी बाल्छ उसलाई अलिकति रेट कम होस् भन्ने उद्देश्यद्वारा त्यसको तयारी गरेको छु मैले ।’

ऊर्जा मन्त्री भुसालले सबै कृषियोग्य भूमिमा सिँचाइ पुर्‍याउनका निम्ति पनि आफू क्रियाशील रहने समेत बताइन । सिँचाइको निःशुल्क सेवा दिन सके विदेशी तेल खपत गरेर पम्प, मोटर चलाउनुपर्ने अवस्थाको अन्त्य हुने र राष्ट्रिय अर्थतन्त्र बढ्ने उनले जानकारी दिईन। सिँचाइको सुविधा पुर्‍याएर युवा जनशक्तिलाई कृषिमा आकर्षित गर्ने योजना रहेको मन्त्री भुसालले उल्लेख गरिन । उनले भनिन् ‘सबै कृषियोग्य जमिनमा सिँचाइ पुर्‍याउने । सिँचाइलाई पनि हामीले आधारभूत र निःशुल्क ढङ्गले सेवा दिन सक्यो भने विदेशी तेलको खपत गरेर पम्प, मोटर चलाएर सिँचाइ गर्ने व्यवस्थालाई हामीले अन्त्य गर्न सक्यो भने त्यसले राष्ट्रिय अर्थतन्त्रमा उत्पादकत्व बढाउने कुरा र पेट्रोलियम पदार्थमा विस्थापित गर्ने कुरा सँगसँगै कृषिप्रति युवा जनशक्तिको आकर्षण हुन्छ भन्ने मान्यता हो ।’मन्त्री भुसालले सातै प्रदेशका नदीबाट विद्युत् उत्पादनका अध्ययन गरिरहेको पनि बताइन ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति