ओलीलाई उहाँकै इच्छाअनुसार मुख्यमन्त्री निवास पुर्‍याएको हुँ – मुख्य सचेतक ढकाल

काठमाडौं, २१ साउन । नेकपा एमाले लुम्बिनी प्रदेशसभाका मुख्य सचेतक भूमिश्वर ढकालले प्रदेश सभा सदस्य विमला खत्री वलीकै राजीखुसीमा दाङबाट मुख्यमन्त्रीको निवासमा पुर्‍याएको दाबी गरेका छन् । एमालेमै फर्किएको विज्ञप्ति पनि उनकै इच्छाअनुसार सार्वजनिक भएको ढकालको भनाइ छ । प्रदेशसभा सदस्य विमलाले बिहीबार बुटवलमा पत्रकार सम्मेलन गरी आफूलाई एमाले प्रमुख सचेतक भूमिश्वर ढकाललगायतले जबर्जस्ती मुख्यमन्त्री निवास पुर्‍याएर ‘बन्धक’ बनाएको र एमालेमा फर्किएको वक्तव्य जारी गर्न लगाएको बताएकी थिइन् । साउन १५ देखि आफूलाई मुख्यमन्त्रीकै निवासमा राखेको र २० गते शौचालयको चप्पल लगाएर भागेको उनको दाबी छ ।प्रमुख सचेतक ढकालले विमलालाई मुख्यमन्त्रीको निवास पुर्‍याएको स्वीकार गरेका छन्, तर जबर्जस्ती नभई उनकै इच्छाअनुसार भएको बताए । ढकालले भने, ‘उहाँले मुख्यमन्त्रीसँग कुरा गर्छु भनेपछि सल्लाहमै नयाँ कपडा लगाएर, झोला भिरेर, घरबाट हामीसँग हिंड्नु भएको थियो । जबरजस्ती गरिएको होइन ।’ दाङबाट बुटवलस्थित मुख्यमन्त्रीको निवासमा ल्याउने बेला विमलासँगै उनकी दिदी र भिनाजुको भाइ पनि सँगै गाडीमा रहेको ढकालले बताए ।

 ढकालको प्रतिक्रिया यस्तो छ–

विमला जीलाई दाङका पार्टीका साथीहरुले लोकल्ली हाम्रो पार्टीमा आउनुस् भन्नु भएको थियो । त्यसो भए भूमिश्वरजीलाई बोलाइदिनुस् भन्नुभएछ । मलाई बोलाएपछि म उहाँको घरमा गएँ । घरमा उहाँसँग, उहाँको आमासँग कुरा गरियो । त्यसपछि उहाँले त्यसो भए मुख्यमन्त्रीलाई भेटेर कुरा गर्छु भन्नुभयो ।अनि हामी बुटवल जान भनेर हिंड्यौं । बुटवल आउने बेला हाम्रो गाडीमा उहाँमात्रै हुनुहुन्थेन । उहाँको आमा र भिनाजुको भाइ पनि सँगै हुनुहुन्थ्यो । इमिलिया पुगेर खाना खायौं । त्यसपछि बुटवलतर्फ लाग्यौं ।

उहाँलाई जबर्जस्ती ल्याइएको होइन । उहाँ बोल्नै नसक्ने बच्चा होर जबर्जस्ती उठाएर ल्याउनलाई ? घरपरिवार समेतको सल्लाहमा, सहमतिमा, नयाँ कपडा लगाएर, झोला भिरेर हिंड्नु भएको थियो ।हामीले मुख्यमन्त्री निवासमा पुर्याऔं । राजीखुसीले विज्ञप्ति बनाउनुभयो र हस्ताक्षर गर्नुभयो । सभामुखलाई र पार्टी अध्यक्ष केपी शर्मा ओलीको नाममा पनि चिठी लेखेर हस्ताक्षर गर्नुभयो ।मुख्यमन्त्रीको निवासमा बसेर सबै कुरा मिलिसकेपछि उहाँलाई होटलमा बसौं भन्ने कुरा भयो । तर उहाँले होइन, होटलमा किन बस्नुपर्यो र यहिं बस्छु, उहाँ (मुख्यमन्त्री शंकर पोखरेल) हाम्रो अभिभावक हो, दाङकै नेता हो भन्नुभयो ।हामीले यहाँ बस्दा अप्ठ्यारो लाग्ला भनेर सरस्वती जीलाई सँगै राखेको हो । सरस्वती जी पनि दाङकै नेता हो, माननीय हो । मुख्यमन्त्रीको निवासमा आउने, बस्ने गर्नुहुन्छ । उहाँले आज गरेको पत्रकार सम्मेलनमा भनेका कुराको जवाफ हामीले पनि पत्रकार सम्मेलन गरेरै दिन्छौं ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति