तपाईंकै समर्थनबाट म सभापतिको उम्मेदवार हुन चाहन्छु – निधि, मेरो अन्तिम पटक हो, मलाई नै समर्थन गर्नुहोस् – सभापति देउवा

काठमाडौं, २० साउन । पार्टी महाधिवेशन आउन २९ दिनमात्र बाँकी रहँदा नेपाली काङ्ग्रेसका उपसभापति विमलेन्द्र निधिले प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवालाई भेटेर आफू सभापति उठ्ने तयारी गरेकोले सहयोग गर्न आग्रह गरेका छन्।

देउवाले सहयोग माग्नुअघि नै निधिले आफूले सभापतिका लागि तयारी अघि बढाइरहेको भन्दै समर्थन खोजेका थिए । ‘तपाईंकै समर्थनबाट म सभापतिको उम्मेदवार हुन चाहन्छु । सम्पर्क कार्यालय पनि खोल्न लागेको छु,’ निधिको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘सम्पर्क कार्यालय उद्घाटन गरिदिन आइदिनुहोला ।’ जवाफमा देउवाले पार्टी विधानको व्यवस्थाले पनि आफ्नो उम्मेदवारी अन्तिम हुने बताउँदै सहयोगका लागि आग्रह गरेपछि निधिले आफू उम्मेदवारबाट पछि नहट्ने भन्दै बालुवाटारबाट बाहिरिएका थिए । बालुवाटारमा देउवा र निधिबीच करिब एक घण्टा भएको वार्तामा पार्टीको क्रियाशील सदस्यताको विवादसम्बन्धी विषयमा समेत छलफल भएको थियो । अन्य राजनीतिक दलका नेता तथा कार्यकर्ताको समायोजन गर्न गठित समितिका संयोजकसमेत रहेका निधिले क्रियाशील सदस्यता वितरणमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले सर्वसम्मितिबाट भएका निर्णयमा समेत असहमति जनाएर विवाद झिक्ने काम गरेको दाबी गरेका थिए ।निर्णय भइसकेको फायललाई फेरि खोतल्नु विधिसम्मत् नभएको तर्क निधिको छ । यस विषयमा उनले बुधबार बस्ने पार्टीको पदाधिकारी बैठकमा आफ्नो धारणा राख्ने बताएका छन् ।निधिले मन्त्रिपरिषद् बिस्तार गर्दा समावेशी र सबै पक्षको प्रतिनिधित्व हुने गरी गर्न समेत देउवालाई सुझाएका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति