काठमाडौं, १८ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले गत साउन ३ गतेको प्रतिनिधिसभा बैठकमा विश्वासको मत प्राप्त गरेका थिए । काँग्रेससहित नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको पाँच दलीय गठबन्धनले सत्ता सञ्चालनका लागि कार्यदल गठन गरेको छ । जसमा एमाले नेता नेपाल पक्ष भने सहभागी छैन । देउवा सरकार गठन भएको तीन साता लाग्दै गर्दा मन्त्रीपरिषद् विस्तार एवम् दलहरुको व्यवस्थापनमा भएको ढिलाई सम्बन्धमा काँग्रेसका नेताहरुले नेपाल पेजसँग गरिएको कुराकानीमा आधारित आलेखः
एमाले नेता माधवकुमार नेपाल सरकारमा सहभागी हुनुहुन्छ भन्ने विश्वास छ – मीन विश्वकर्मा

हामीले केपी शर्मा ओलीलाई ड्राइभर सिटमा राखेका थियौं । तर, उहाँले कहिले धेरै नै बायाँतिर त कहिले धेरै नै दायाँतिर गाडीलाई लानुभयो । अर्कोसँग पटक–पटक ठोक्किने डर भयो । गत २०७७ पुष ५ गते त गाडी ठोक्काउनु नै भयो तयतिबेला हामीले चेतावनी मात्रै दिएका थियौं तर २०७८ जेठ ८ गते पनि पुनः गाडी उहाँले ठोक्काउनु भएपछि हामी गाडीमा बसिरहेका पाँच मुखे प्यासेन्जरहरु निकै चिन्तित भएका थियौं । र हामीले ट्राफिक रुल लगाएर उहाँलाई ड्राइभर सिटबाट हटायौं । अब मन्त्रीपरिषद् विस्तारको काम नजिक–नजिक पुगिसकेको छ । यसका लागि राजनीतिक संयन्त्र जुन बनेको छ यसले पनि आफ्ना क्रियाकलापहरु अगाडि बढाउदै आएको छ । मन्त्रीपरिषद्ले पूर्णता पाएसँगै सबै दलहरुबीचमा विमती नराखी नीति तथा कार्यक्रम बन्छ ।
हाम्रो अनुरोध के छ भने, पहिला जो जति जनाले दुर्घटनाबाट जोगाउन प्यासेन्जरहरु एक भएका थियौं, सबैले सँगै बसेर यात्रा तय गरौं भन्ने हो । तर, माधव नेपालजीले अहिले आफ्नो घरको आन्तरिक कलह छ भन्नुभएको छ । यो अवस्थामा हतार गरेरभन्दा पनि मलाई केही समय दिनुस् भनेर माधव नेपाल जीले भन्नुभएको छ । सबै दललाई सहमति गरेर अघि लानुपर्छ भन्ने हो, माधव नेपालजी पनि आउनुहुन्छ भन्ने विश्वास छ ।
ढिला होस् तर राम्रो होस् भन्ने सोचका साथ अघि बढेका छौं – प्रमिला राई

सरकार पुनर्गठनमा ढिला होस् तर राम्रो होस् भन्ने सोचका साथ अघि बढेका छौैं । प्रधानमन्त्री शेरबहादुर देउवाजी सबै दललाई सहमति गरेर अघि लानुपर्छ भन्ने सोचमा हुनुहुन्छ । अब जनता समाजवादी पार्टीको लफडा पनि थियो, अहिले त उपेन्द्र यादवजी पनि एउटा निर्णयमा पुग्नुभएको छ । एमालेमा माधवकुमार नेपाल र केपी शर्मा ओलीबीचमा द्वन्द्व पनि छ । उहाँहरुबीचमा पार्टी विभाजन वा अलग हुने वा प्रतिस्पर्धा गर्ने भन्ने छ । यसर्थ काँग्रेसले कुनै हतार नगरी सबै दलहरुलाई सहमतिमा ल्याएर स्थायी सरकार बनाउनुपर्छ भन्ने सोचमा छ । वास्तवमा, ढिलाइभन्दा पनि सरकारलाई सफल गर्ने खालको सोचका साथ काँग्रेस अगाडि बढेको छ ।
सुविधाजनक बहुमतमा सरकार टिकाउन चाहन्छौं – प्रकाश रसाईली स्नेही

पहिला पनि त, केपी शर्मा ओली र प्रचण्डबीचको सरकार पुर्नगठनमा १ महिना लागेको थियो नि । अब उहाँहरुबीच पनि पार्टी विवाद छ, पार्टीको आ–आफ्नै समूह छ । माधव नेपाल यसैगरी उपेन्द्र यादव र महन्थ ठाकुरको पार्टी त विभाजनमा छ, यी यस्तै प्राविधिक कारणवश ढिला भएको हो । सहमति हुने बित्तिकै नीति तथा कार्यक्रम संसदमा पेश गर्छ ।
हामीले अधिकतम प्रयास के गरिरहेका छौं भने धेरैभन्दा धेरै दलहरुलाई सरकारमा सहभागी गराउन चाहेका छौं । माधव नेपाल मात्र होइन, हिजो संसद विघटन ठिक होे भन्ने महन्थ ठाकुर र राजेन्द्र महतोलाई पनि सहमतिमा ल्याउने हाम्रो प्रयास छ । संसद ५ वर्ष टिक्नुपर्छ, प्रधानमन्त्रीले हातमा भरुवा बन्दुक छ भनेर जतिखेर मन लाग्यो त्यतिखेर पड्काउने होइन नि । अनि जतिखेर पायो त्यतिखेर जनताका अगाडि ढ्वाङ् थाप्ने कुरा पनि मिल्दैन । तत्काल जनादेशमा जाने अधिकार सरकारलाई संविधानले दिदैन । यसर्थ, यो सरकारलाई सुविधाजनक बहुमतका साथ टिकाइरहन चाहन्छौं, यसैको तयारी भइरहेको छ ।
प्रतिक्रिया