काठमाडौं, १४ साउन । जापानको राजधानी सहर टोकियोमा ३२औँ ग्रीष्मकालीन ओलम्पिक प्रतियोगिता चलिरहेको छ । प्रतियोगिता चलिरहेकै समयमा टोकियो सहरमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम पनि बढेको छ । बिहीबार टोकियोमा ३ हजार ८६५ नयाँ संक्रमित देखिएको टोकियोको स्थानीय सरकारले बताएको छ ।
यसअघि बुधबार टोकियोमा ३ हजार १७७ नयाँ संक्रमित थपिएका थिए । टोकियोमा लगातार तेस्रो दिन कोरोनाका नयाँ संक्रमितको संख्यामा वृद्धि भएको हो । बिहीबार भेटिएकामध्ये १९८ नयाँ संक्रमित ओलम्पिक खेलसँग सम्बन्धित रहेको ओलम्पिक आयोजकले बताएको छ । टोकियोमा कोरोना संक्रमण बढेसँगै अगष्ट २२ सम्मको लागि आपतकालीन अवस्था जारी गरिएको छ ।
टोकियोका सार्वजनिक स्वास्थ्य विशेषज्ञ केन्जी शिबुयाले ओलम्पिक खेल भइरहेको समयमा कोरोना संक्रमण बढ्नु चिन्ताको विषय भएको बताए । यसबाट जापानमा कोरोना संक्रमण ठूलो संख्यामा फैलिन सक्ने जोखिम बढेको उनको भनाइ छ । जापानका प्रधानमन्त्री योशिहिदे सुगाको सरकार हाल जारी आपतकालिन अवस्थालाई टोकियो वरपरका तीन प्रान्तहरुमा विस्तार गर्ने योजनामा छ
प्रतिक्रिया