श्रेष्ठलाई राज्यमन्त्री बनाएकोमा गठबन्धनका नेताबाट आलोचना, अब त्यस्तो हुँदैन – प्रधानमन्त्री देउवा

काठमाडौं, १३ साउन ।  काठमाडौं बुधबार प्रधानमन्त्रीको निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा स्वास्थ्य राज्यमन्त्री नियूक्तिका विषयमा निकै चर्चा भयो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री बनाउँदा यति धेरै विरोध आउला भन्ने नसोचेको बताउँदै उनले यसबारे छलफल गर्न परे गर्ने बताएका छन्। उक्त बैठकमा उपस्थित माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठका अनुसार स्वास्थ्य राज्यमन्त्रीमा श्रेष्ठको नियुक्तिलाई लिएर बैठकमा लगभग सबैले असन्तुष्टि व्यक्त गरेपछि प्रधानमन्त्री देउवाले छलफल गर्दै गरौँला भनेका थिए। श्रेष्ठ आफैंले पनि स्वास्थ्य राज्यमन्त्रीमा श्रेष्ठलाई नियुक्ति गरेकोमा असन्तुष्टि जनाएको बताए। नेताहरूले आलोचना गरेपछि देउवाले गल्ती स्वीकार गर्दै आइन्दा यस्तो गल्ति नगर्ने बताएको एक स्रोतले जनाएको छ ।

एक त गठबन्धनसँग अघिल्लो दिन कुरा हुँदा स्वास्थ्य राज्यमन्त्री बनाउने कुरै भएको थिएन। गठबन्धन संस्कृतिमा सरसल्लाह नगरी निर्णय गर्ने कुरा राम्रो हुन्न, यसले विश्वासको वातावरण कायम राख्न गाह्रो हुन्छ भन्ने आधारमा नियुक्तिको विरोध गरेको थिएँ, उनले भने, दोस्रोचाहिँ स्वार्थ बाझिनेलाई कुनै जिम्मेवारी दिने कि नदिने भन्ने नीतिगत प्रश्नसँग सम्बन्धित छ। व्यक्तिगत रूपमा उमेशजी राम्रै हुनुहोला मेरै पनि मित्र हुनुहोला तर स्वार्थ बाझिएकालाई नियुक्ति दिन हुन्न भन्ने कोणबाट जुन आलोचना भएको छ त्यो सही नै छ भन्ने कुरा मेरो थियो। राष्ट्रिय जनमोर्चाका नेता चित्रबहादुर केसीले पनि उमेश श्रेष्ठ नियुक्तिको विरोध गरेको गर्नुभएको श्रेष्ठले बताए। उपस्थित अरू नेताहरूले पनि यसबारे आलोचना गरेका थिए। माओवादी नेता श्रेष्ठका अनुसार सबैको आलोचना सुनेपछि देउवाले शिक्षा लिँदै जाने बताएका थिए।

उहाँले ‘लेसन’ लिनपर्छ भन्नुभयो। मैले पनि हामीले ‘लेसन’ त लिनैपर्छ तर जुन कुरा ‘करेक्सन’ गर्न लायक छ त्यसलाई ‘करेक्सन’ पनि गरौं भनेको थिएँ, नेता श्रेष्ठले भने। त्यसपछि भने देउवाले आफ्नै साथीहरूले समेत विरोध गरेको भन्दै सल्लाह गर्दै जाने बताए। बैठकमा देउवाले आफ्नो परिवारबाट यस्तो प्रस्ताव आएको संकेत गर्नुभएको थियो ।उहाँले परिवारबाट कसैले प्रस्ताव ल्याएको हुनाले राज्यमन्त्री बनाएको देउवाले जवाफ दिए पनि कसको प्रस्तावमा मन्त्री बनाइएको भन्ने चाहिँ उहाँले बैठकमा खुलाउनुभएन । जबकि सत्तारुढ दलहरुको कार्यदलमा समेत सल्लाह नगरी श्रेष्ठलाई राज्यमन्त्री बनाइएको भन्दै काँग्रेस नेता पूर्णबहादुर खड्कासमेतले आपत्ति जनाएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति