काठमाडौं, १२ साउन । नेकपा एमालेको माधव नेपाल पक्षको स्थायी कमिटिको बैठकले सार्वजनिकरुपमा गाली गलौज नगरेर पार्टी एकतामा जोड दिने निर्णय गरेको छ । नेपाल पक्षको सोमबार बसेको स्थायी कमिटी बैठकले अझै पार्टी एकतामा लाग्नु पर्ने निर्णय गरेको छ ।
अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपाल दुवै जनालाई अध्यक्ष बनाएर आगामी महाधिवेशनसम्म जाने प्रस्तावलाई एकताको आधार बनाउन सकिने बैठकमा छलफल भएको एक स्थायी समिति सदस्यले दावी गरे ।
एमालेभित्रको विवाद समाधानका लागि माधव नेपाललाई दोस्रो अध्यक्ष बनाउने प्रस्ताव ओली समूहका नेताहरुले अगाडि सारे पनि ओलीले यसबारेमा छलफल गर्न नचाहेको ओली पक्षकै अर्को नेताले बताए । । यो प्रस्तावमा माधव नेपाल पक्षका केही नेताहरु सहमत देखिएपनि नेता नेपालले विश्वास गरेका छैनन् ।
वरिष्ठ नेता नेपालले १० बुँदे सहमति अमूर्त भएको भन्दै ठोस अस्वीकार गरिसकेका छन् । ओली पक्षले एकता चाहेको हो भने ठोस प्रस्ताव र सोही अनुसार को व्यवहार देखिनु पर्ने माधव नेपालले बैठकमा बताएको एक नेताले बताए ।
दुवै पक्षका दोस्रो तहका नेताहरुले दुई अध्यक्षात्मक प्रणाली अपनाएर एकता गर्नु पर्ने बताए पनि अध्यक्ष ओली सहमत छैनन् । केन्द्रमा एकताको सांयोजना जति सजिलो भएपनि प्रदेश र स्थानीय तहमा दुई चिरामा विभक्त एमालेको एकता र संयोजना सहज नभएको माधव नेपालको बुझाई छ ।
पछिल्लो समय माधव नेपाल समूहभित्रै ओली पक्षसंग जसरी पनि एकता गर्ने भन्ने र ओली संगक कुनै हालतमा सम्झौता नगर्ने भन्ने पक्षबीच मतभेद देखिएको छ । माधव नेपालले ओलीसंग सम्झौता गर्ने भन्ने पक्षका नेताहरु भीम रावल सहिततलाई विश्वास गर्न छाडेका छन् । नेपालले पार्टी भित्रकै तेस्रो तहका नेताहरुको ठूल टिम बनाइरहेका छन् ।
माधव नेपालको चाहना ओलीलाई अध्यक्ष बाट हटाएर सके आफू हुने नभए तेस्रो व्यक्तिलाई अघि सारेर मात्र एकता गर्ने चाहना छ । यो सम्भव नभए नयां पार्टी बनाएर जानेमा माधव नेपाल निश्कर्षमा पुगेका छन् ।
माधव नेपाललाई उनको समूहका दोसो तहका नेताहरुले भन्दा तेस्रो तहका नेता तथा पछिल्लो समय ओली समुह छाडेका ८ जना सांसदले नयां पार्टी बनाएर अघि बढ्न दबाव दिइरहेका छन् ।
माधव नेपालले ओलीमाथि दबाब बढाउनकै लागि सत्तारुढ गठवन्धनको बैठकमा सहभागी हुन थालेका छन् । सत्ता गठवन्धनको बैठकमा माधव समूहलाई ५ वटा मन्त्रालय दिने समेत सहमति भइसकेको छ । ५ भित्र ओली पक्षबाट विद्रोह गरेका ८ जनाको कोटा छैन । ८ जनाको समूहले दुई वटा मन्त्री पाउने भएका छन् । त्यो समूहबाट तनहुंका किसान श्रेष्ठ र डोटीका प्रमे आलेमगरलाई मन्त्री बनाउने जिम्मा प्रधानमन्त्री शेरबहादुर देउवाले नै लिएका छन् । उनीहरु सांसद पद गएपनि मन्त्री हुने निश्चित छ ।
प्रतिक्रिया