नक्कली फेसबुक आइडीबाट युवतीको मानमर्दन

खोटाङ, ११ साउन । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङकी २१ वर्षकी युवतीलाई ‘यो मायाको सागर’ नामको फेसबुक आइडीबाट फ्रेण्डरिक्वेस्ट आयो। ‘यो मायाको सागर’को फ्रेण्डलिष्टमा आफ्नै गाउँका दिदीबहिनीहरु देखेपछि उनले पनि चिनजानकै मान्छे ठानेर फ्रेण्डरिक्वेस्ट स्वीकार गरिन्। तर, त्यही अपरिचितको फ्रेण्डरिक्वेस्ट एसेप्टले गर्दा दाहाल थरकी युवतीलाई नसोचेको तनाव झेल्नु परेको छ। पटक–पटक आफ्नै तस्बिर राखेर अपशव्द प्रयोग गरेर ‘सेक्स्सुअल’ स्टाटस लेखेर टाइमलाईनमा राखिदिने र ट्याग गरिदिन थालेपछि उनलाई तनाव भएको हो। नक्कली फेसबुक आइडीबाट गाउँघरमा हिँडडुल गर्नै अपठ्यारो हुनेगरी आक्रमण भएको उनी बताउँछिन्।

सोही ठाउँकी अर्का १९ वर्ष र २१ वर्षकै युवती पनि ‘यो मायाको सागर’ नामको फेसबुक आइडीबाटै पीडित छन्। ‘यो मायाको सागर’ नामको फेसबुक आइडीबाट तिनै युवतीको तस्बिर राखेर व्यक्तिगत मान, सम्मान र इज्जतमा दाग लाग्ने खालका शव्द प्रयोग गरेर आफन्तलाई ट्याग गरिदिने गरेका छन्। युवतीको टाइमलाईनमा राखिएका र ट्याग गरिएका सामग्री आफन्तसँग सँगै बसेर पढ्न सकिन्न।

‘यो मायाको सागर’ नामको फेसबुक आइडीबाट उनीहरु मात्र नभएर हलेसी तुवाचुङ नगरपालिका–११ राजापानी, रावाबेँसी गाउँपालिका–१ कुभिन्डेदेखि काभ्रेसम्मका दर्जनौं युवती पीडित भएको पाइएको छ। अश्लिल स्टाटसले समाजमा मुख देखाउँनै असहज बनाएको पीडित युवतीले बताईन्। किशोरीको तस्बिर राखेर पटक–पटक अश्लिल पोष्ट गर्दा परिवारमा समेत तनाव सिर्जना भएको छ। नक्कली फेसबुक अकाउण्ट बनाएर युवतीको मानमर्दन गर्ने र सामाजिकरुपमा बेइज्जत गर्ने व्यक्तिको हालसम्म पहिचान भएको छैन। ‘हाम्रो इज्जत र प्रतिष्ठामा प्रश्न चिन्ह उठेको छ। घर परिवार र समाजले हेर्ने दृष्टिकोण समेत नकरात्मक बनेको छ। व्यक्तिगत जीवन व्यतित गर्नै समस्या बनाएको छ,’ एक पीडित युवतीले भनिन्, ‘अब लजाएर चुप बसेर भएन। चुप लागेर बसिरह्यौं भने समाजले उल्टै हामीलाई नै नराम्रो ठान्ने रहेछ। थोरैले हामी निर्दोष छौँ भनेर बुझेका छन्रबुझ्छन्। धेरैले त हामीलाई नै दोषी भनिरहेका छन्। हामी यसबाट उन्मुक्ती खोजिरहेका छौँ।’

नक्कली फेसबुक आइडीबाट मानमर्दन गर्ने व्यक्तिको पहिचान एवं कारबाहीका लागि पीडित चार युवतीले जिल्ला प्रहरी कार्यालय खोटाङमा असार १२ गते र असार १९ गते निवेदन दिएका छन्। यस्तै, असार १३ गते प्रहरी प्रधान कार्यालय साइबर व्यूरो भोटाहिटी काठ्माण्डौंमा पनि निवेदन दिएको बताएका छन्। तर, हालसम्म दोषी पत्ता लाग्न सकेको छैन। हालसम्म अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी उमेश लम्सालले बताए। ‘यो टेक्निकल कुरा भएकाले साइबर व्यूरोसँग समन्वय गरेर काम भइरहेको छ। त्यो मान्छे बसेर चलाइरहेको स्थान पत्ता लागिसकेको छ,’ डिएसपी लम्सालले भने, ‘त्यो मान्छे विदेशमा भएकाले को, केहो भन्ने पत्ता लगाउन गार्‍हो भइरहेको छ। त्यसको पहिचानका लागि ईन्टरपोलमार्फत प्रयास गरिरहेका छौँ।’

पीडित युवतीले नक्कली फेसबुक आइडीबाट आफ्नै तस्बिर राखेर अश्लिल स्टाटस लेखेको असार ११ गते मात्र थाहा पाएका थिए। ‘यो मायाको सागर’ नामको फेसबुक आइडीबाट ‘पहिलो र दोश्रो भाग सकियो अब तेश्रो भाग आउँछ’ भनेर स्टाटस लेखेको पीडित युवती बताउँछन्। मेसेञ्जरमा समेत अश्लिल शव्द प्रयोग गरेर सम्वाद गर्नेगरेको पाइएकोछ। यद्यपी, प्रहरीसम्म उजुरी पुगेपछि सो आइडी सञ्चालकले क्रमशः सबैलाई फ्रेण्डलिष्टबाट हटाउँदै लगेको बताइएको छ। एक युवतीको तस्बिरलाई प्रोफाइल पिक्चर बनाएका उनले हाल सो तस्बिर समेत हटाएको पाइएको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति