काठमाडौँ, १० साउन । सत्तारूढ नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको परिवारलाई न्याय दिलाउन सरकारको ध्यानाकर्षण गराएका छन् । उक्त घटनाको तीन वर्ष पुगेको सन्दर्भमा शर्माले आइतबार सामाजिक सञ्जाल ट्विटरमार्फत यस्तो आग्रह गरेका हुन् ।
‘बालिका निर्मला पन्तको प्रकरण आज साउन १० गते ३ वर्ष पुग्यो,’ उनले लेखेका छन्, ‘सम्माननीय र माननीय गृहमन्त्रीको ध्यानाकर्षण गराउन चाहन्छु ।’ बालिका र महिलाउपर हिंसा, बलात्कार र हत्याका घटना नियन्त्रण गर्न राज्यको कठोरतासँगै राजनीतिक द्वन्द्वभन्दा माथि सामाजिक रूपान्तरणको साझा अठोट र अभियान जरुरी रहेकोमा शर्माले जोड दिएका छन् ।
‘प्रतिपक्षमा छँदा प्रश्न थिए हामीसँग सत्तारूढ बनेपछिको समयले जवाफ माग्छ सरकार भर्खर बनेको छ, अब गहन दायित्व निभाउन विशेष गम्भीरता अपेक्षित छ,’ उनले लेखेका छन्, ‘निर्मलालाई न्यायसँगै, कसैले पनि यस्तो नियति भोग्न नपरोस्, विशेष तदारूकता बढाऔं ।’
कञ्चनुपरकी बालिका निर्मलाको २०७५ साउन १० गते बलात्कारपछि हत्या भएको थियो । भीमदत्त नगरपालिका–१८ निम्बुखेडास्थित साथीको घरमा गएकी उनको भोलिपल्ट महेन्द्रनगर–उलटाखाम सडकछेउ उखुबारीमा शव भेटिएको थियो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले अकाट्य प्रमाण र घटनाबारे बताउन सक्ने प्रत्यक्षदर्शी नहुँदा अनुसन्धान निष्कर्षमा पुग्न नसकेको बताउनुभयो । नेपाल प्रहरी प्रधान कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक वसन्त कुँवरले निर्मला हत्या अनुसन्धानको दायरा साँघुरिएको बताए । अहिले पनि कञ्चनपुरमा घटना अनुसन्धानका लागि प्रहरीका तीनवटा टोली सक्रिय छन् । अनुसन्धानका क्रममा ६ सयजनालाई लिखित कागजात बनाएरै सोधपुछ गरिएको छ भने करिब एक सयजनाको डीएनए परीक्षण भएको छ ।
प्रतिक्रिया