काठमान्डौ ८ साउन
उपचारमा लापरवाही भएर नेपाल वायुसेवा निगमका क्याप्टेनको मृत्यु भएको भन्दैउनको उपचारमा खटिएका डाक्टरलाई कारबाही गरिएको छ । निगमका बरिष्ठ क्याप्टेन राकेश जंगबहादुर राणाको लापरवाही भई मत्यु भएको ठहर गर्दै नेपाल मेडिकल काउन्सिलले मुटुरोग विशेषज्ञ डा।ऋषि खत्रीलाई कारबाही गरेको हो ।
क्याप्टेन राणाको २०७७ मसिंर १० गते हृदयघातका कारण मृत्यु भएको थियो । मंसिर ९ गते राति मलेसियाको उडानका लागि तयारी गर्दै गर्दा अचानक असहज महसुस भएपछि राणालाई ह्याम्स अस्पताल भर्ना गरिएको थियो । अस्पताल भर्ना गरेको भोलिपल्ट उहाँको मृत्यु भएको थियो।
राणाको उपचारमा संलग्न डा। खत्री र नागरिक उड्डयन प्राधिकरणका नागरिक उड्डयन चिकित्सा निर्धारक डा।राजीवकुमार देउविरुद्ध उजुरी गरिएको थियो । क्याप्टेन राणाकी श्रीमती पुष्पा राणाले गत चैत ४ गते मेडिकल काउन्सिलमा उजुरी दिनुभएको थियो ।
छानबिनपछि उपचारमा लापरवाही देखिएको ठहर गर्दै काउन्सिलले डा। खत्रीमाथि कारबाही गरेको हो । काउन्सिलले यही साउन ४ गते उजुरीकर्ता पुष्पा राणालाई पत्र लेखी चिकित्सकमाथि कारबाही गरेको जानकारी दिएको छ । चिकित्सक विरुद्धमा परेको उजुरी सम्बन्धमा छानबिन हुँदा निजले चिकित्सकीय लापरवाही गरेको देखिएको काउन्सिलले पठाएको पत्रमा भनिएको छ ।
डा। खत्रीलाई सूचना जारी भएको मितिले १ वर्षसम्म मुटुरोग विज्ञको हैसियतमा काम गर्न नदिने निर्णय भएको काउन्सिलले जनाएको छ ।एक वर्ष तालिम र थप सिकाइ गरेको प्रमाण पेश गरेपश्चात मात्रै मुटुरोगको उपचार गर्न गराउन अनुमति दिने निर्णय पनि काउन्सिलले गरेको छ ।
नेपाल नागरिक उड्ययन प्राधिकरणमा चिकित्सकको नियुक्ति तथा निजहरूको जिम्मेवारी सम्बन्धमा पनि विभिन्न व्यवस्था गर्न निमगलाई आग्रह गर्ने निर्णय काउन्सिलले गरेको छ।
विमान चालक पाइलटहरूको स्वास्थ्य परीक्षण गराउँदा सम्बन्धित विषयको दर्तावाला विज्ञ चिकित्सकबाट परीक्षण गराउने, विज्ञ पहिचानमा कुनै सहयोग आवश्यक भए नेपाल मेडिकल काउन्सिलमा सम्पर्क गर्ने, ४० वर्ष उमेर पुगेका पाइलटहरूको स्वास्थ्य परीक्षणलाई थप कडाई गरी विषय विज्ञको राय बमोजिम गर्ने गराउने जस्ता सुझाव निगमलाई दिने निर्णय पनि मेडिकल काउन्सिलले गरेको छ ।
प्रतिक्रिया