चीनमा नेपाल चर्चा : भारतमुखी प्रधानमन्त्री भए पनि नेपाल–चीन सम्बन्ध बलियो छ

काठमाडौं, ७ साउन ।  नेपालमा सत्ता परिवर्तन भएसँगै उत्तरी छिमेकी मुलुक चीनमा विभिन्न कोणबाट विश्लेषण हुन थालेका छन् । चिनियाँ संचारमाध्यमले आ–आफ्नो कोणबाट शेरबहादुर देउवा नेतृत्वको सरकारको विदेश नीति र चीनले खेल्नुपर्ने भूमिकाबारे चर्चा गरेका छन् ।

चिनियाँ संस्थापन निकट मिडिया ग्लोबल टाइम्समा गतसाता प्रकाशित एक आलेखमा फुदान विश्वविद्यालयका प्राध्यापक झाङ जिदोङद्वारा लिखित आलेखको हेडलाइन छ स् भारतमुखी प्रधानमन्त्री भएपनि नेपाल र चीनको सम्बन्ध बलियो छ ।’देउवा कति लामो समयसम्म सत्तामा रहन्छन् भन्ने कुरा निश्चित नभएको प्राध्यापक जिदोङको तर्क छ । संसदमा कम्युनिष्टहरुकै बहुमत भएकाले आउने चुनावमा देउवाले आफ्ना लागि जितको अनुकूल वातावरण सिर्जना गर्न नसक्ने तर्क पनि छ ।‘जुन दल सरकारमा आएपनि सो दलले चीनसँग सहकार्य नगरी मुलुकलाई समृद्धिमा लैजान सक्दैन र भारतको प्रभावलाई पनि इन्कार गर्न सक्दैनन्,’ उनले भनेका छन्, ‘नेपाल भारत र चीनबाहेक कुनै तेस्रो मुलुकसँग सम्बन्ध विस्तारका लागि पनि इच्छुक छ ।’

‘प्रो–इन्डियन नेता भएपनि नेपाल–चीन ठोस सम्बन्ध’ शीर्षकमा प्रकाशित सो लेखमा उनले देउवा सत्तामा आएपछि नेपालको भारततर्फ झुकाव बढ्नसक्ने तर यसले भारत, चीन र तेस्रो मुलुकको विचमा वहुपक्षीय सन्तुलित सम्बन्धको आधारभूत सोचमा परिवर्तन नल्याउने बताएका छन् । लेखकले नेपालको भारतसँगको निर्भरतालाई पनि व्याख्या गरेका छन् ।

लेखमा भनिएको छ, ‘यदि नेपाल विश्वको आर्थिक र व्यापार गतिविधिहरुमा भाग लिन चाहन्छ भने भारतीय बाटोमार्फत जानुपर्छ । नेपालमा विश्वको पहुँच भारतको हातमा रहेको छ । हिन्दु नेपालको मुख्य र सबैभन्दा ठूलो धर्म हो त्यसैले नेपालमा जुन दल सरकारमा आएपनि उसले भारतको प्रभावलाई टार्न सक्दैन ।’

ती प्राध्यापकले देउवा अदालतको आदेशमा प्रधानमन्त्री भएको भन्दै उनलाई जनताको सीमित समर्थन रहेको उल्लेख गरेका छन् ।

‘देउवा कति समय सत्तामा रहन्छन्, स्पष्ट छैन । उनी संसदबाट निर्वाचित भएका होइनन् सर्वोच्च अदालतबाट भएका हुन् । यसको मतलब उनीलाई नेपाली कांगेस र जनताको सीमित समर्थन रहेको छ,’ उनले भने, ‘नेपाल कम्युनिष्ट पार्टी अझै पनि नेपालको सबैभन्दा ठूलो दल हो । देउवाले संसदमा बहुमत जुटाउन सकेनन् भने आगामी निर्वाचनमा उनका लागि अनकुल वातावरण बन्द सक्दैन ।’

लेखकले नेपाल नीतिका सम्बन्धमा चिनियाँ सरकारलाई पनि सुझाव दिएका छन् । उनले भनेका छन्, ‘चीनको लागि नेतृत्व र सत्तारुढ दलमा भएका परिवर्तनमा ध्यान केन्द्रित गर्नु भन्दा नेपालको विदेश नीतिको बारेमा आफ्नो समझदारीलाई अझ गहन बनाउनु महत्वपूर्ण हो । चीनको नेपालसँगको सम्बन्धमा नयाँ कूटनीतिक प्रणाली, स्वरुप, आयाम विकास गर्नु जरुरत मात्र छैन्, नयाँ युगमा कूटनीतिक सुधारको आवश्यकता रहेको छ ।’ नेपालको पछिल्लो राजनीतिक घटनाक्रमको बारेमा चीनको आधिकारिक धारणा भने सार्वजनिक गरेको छैन ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board