माधव नेपाल भन्छन्– आफूले बनाएको घर छाडेर हिँड्न मन हुन्न तर अपमान सहेर बस्न सकिन्न


काठमाडौं, ७ साउन ।  नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अपमान सहेर कोही बस्न नसक्ने बताएका छन् ।बिहीबार पुष्पलाल स्मृति दिवसको अवसरमा काठमाडौंको चम्पादेवीमा आयोजित कार्यक्रममा बोल्दै नेता नेपालले अपमान सहेर बस्न पनि नसकिने र आफूले बनाएको घर छाडेर हिँड्न पनि मुश्किल पर्ने बताए ।

‘कसैलाई आफूले बनाएको घर छाडेर हिँड्ने मन हुन्न तर अपमान सहेर कोही पनि बस्दैन,’ नेपालले भने, ‘गलत कुकर्म सहेर कोही पनि बस्न हुन्न । त्यो प्रशिक्षण हामीले पाएका छैनौं ।’वरिष्ठ नेता नेपालले पार्टी कसरी अघि बढ्छ भनेर पर्खेर हेरिरहेको पनि बताएका छन् ।

क्रान्तिकारी पार्टीको स्वरुप लिएर एमाले अगाडि बढोस् भन्ने चाहेको भन्दै उनले भने, ‘त्यो स्वरुपमा अगाडि बढ्छ कि बढ्दैन, पर्खेर हेरिरहेका छौं ।’ गलत कुरालाई स्वीकार गरेर शिर निहुर्‍याएर दासत्व मान्न नसकिने उनको भनाइ छ । ‘अरुको अपमान गर्ने मान्छेहरुले समाजको अपमान गर्छ, त्यसलाई कुसन्तान भन्छन्, त्यसलाई निरुत्साहित गर्नुपर्छ ’ नेपालले भने । कम्युनिष्ट पार्टीमा नीति र विचार प्रधान हुने तर नेता प्रधान नहुने उनको भनाइ थियो ।

‘अपराधिक, शोषक, सामन्ती, जाली-झेली, फटाहा तत्वहरूले कहिले स्याल हुइयाँ, कहिले बाँदर जुलुस, कहिले बरण्डामा उफ्रिने नाटक मञ्चन भइरहेको छ,’ उनले भने। 

उनले पार्टीभित्र घाउखटिरालाई औषधिसँगै आत्मबलले निको पार्नुपर्ने पनि बताए। ‘कम्युनिष्ट आन्दोलनलाई सही दिशामा लैजाने क्रान्तिकारी पार्टीको स्वरुप लिएर एमाले अघि बढोस् भन्ने हामी चाहन्छौं, त्यो रुपमा एमाले अघि बढ्छ कि बढ्दैन, हामी हेरिरहेका छौं,’ उनले भने।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति