एमालेको स्थायी कमिटी र संसदीय दलको बैठक बस्दै

काठमाडौं, १ साउन । एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच कटुता बढिरहेको बेला नेकपा एमालेको स्थायी कमिटी र संसदीय दलको बैठक आज बस्दैछ । स्थायी कमिटीको बैठक बिहान ११ बजे ललितपुरस्थित तुलसीलाल प्रतिष्ठानमा बोलाइएको छ ।

त्यसपछि दिउँसो तीन बजे संसद भवनको ल्होत्से हलमा संसदीय दलको बैठक बस्ने छ । एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले बैठकमा माधव नेपाल पक्षका नेताहरुलाई पनि बोलाइएको बताए । यद्यपि नेपाल पक्षका नेताहरु बैठकमा जाने कि नजाने भन्ने टुंगो लागिसकेको छैन ।

अध्यक्ष ओलीले नेपालसँग सल्लाह नै नगरी एकपक्षीय रुपले बैठक बोलाएको आरोप नेपाल पक्षका नेताहरुले लगाएका छन् । एकपक्षीय रुपमा बोलाइएको बैठकमा सहभागी हुन नहुने नेपाल पक्षका केही नेताहरुको मत छ । नेपाल पक्षका नेता एवम् एमाले उपाध्यक्ष युवराज ज्ञवालीले स्थायी कमिटीको बैठकमा सहभागी नहुने बताए। एमालेभित्रको विवादलाई समाधान गर्ने उद्देश्यले दुवै पक्षका नेताहरु सम्मिलित कार्यदलले १० बुँदे सहमति गरेको थियो । तर बालुवाटारस्थित सरकारी निवासबाट बाहिरिएलगत्तै ओलीले नेपाललाई ‘गद्दार’ भनेकाले उक्त १० बुँदे सहमति पनि संकटमा परेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति