काठमाडौँ, २९ असार । नेकपा माओवादी केन्द्रले सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापना गरेपछिको अवस्थाबारे छलफल गर्न आज स्थायी समितिको बैठक बोलाएको छ।
अहिले बिहान साढे ८ बजे पार्टी कार्यालय पेरिसडाँडामा बैठक सुरु गरिने भएको हो। बैठकले शेरबहादुर देउवाको नेतृत्वमा सरकारमा सहभागी हुने नेताहरूबारे पनि निर्णय गर्ने सम्भावना छ। आजबाट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सत्ताबाट बाहिरिँदै छन् भने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्दै छन्।
सर्वोच्च अदालतको आदेशअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले आज देउवालाई प्रधानमन्त्री पदमा नियुक्ति गर्ने भएकी हुन्। राष्ट्रपतिको कार्यालयका एक अधिकारीका अनुसार आज साँझ ५ बजे देउवालाई प्रधानमन्त्री पदको शपथ खुवाउने कार्यक्रम तय गरिएको छ। देउवाले आजै सानो आकारको मन्त्रिमण्डल गठन गर्ने तयारी गरिरहेका छन्।
प्रतिक्रिया