काठमाडौं, २६ असार । नेकपा एमालेको विवाद समाधानका लागि गठित कार्यदल अझै सहमतिमा पुग्न सकेन । यद्यपि भोलिसम्म सहमतिमा पुग्ने प्रयास हुने नेताहरुले बताएका छन् ।
शनिबार सिंहदरबारमा बसेको बैठकमा मिल्न बाँकी विषयमा छलफल भएको थियो । पार्टी एकतामा समस्या के थिए रु कसरी समाधान गर्ने ? भन्ने छलफल भएको भन्दै कार्यदलका सदस्य गोकर्ण विष्टले भने, ‘भोलि सुखद समाचार सुन्न पाउनुहुन्छ ।’ लामो समयदेखि अनौपचारिक सम्वादमा रहेका दोस्रो तहका नेताहरुले सोमबारदेखि कार्यदल स्तरमा छलफल गरेका थिए । पछिल्ला दिनहरुमा नेताहरुले सहमति नजिक पुगेको दाबी गरेपनि सर्वोच्च अदालतमा विचाराधीन संसद विघटनको मुद्दामा के गर्ने भन्ने समझदारी बन्न सकेको छैन ।
त्यस्तै नेता भीम रावलले छलफलको अन्तिम विन्दुमा रहेको बताउँदै छिट्टै निष्कर्षमा दिने दाबी गरे । हामीले विभिन्न विषयमा छलफल गरेका छौं । छलफलको अन्तिम विन्दुमा छौं । सम्भवतः छलफललाई छिट्टै पुरा गरेर निष्कर्षमा पुग्नेछौं । कार्यदलका अर्का सदस्य घनश्याम भूसालले भने केही प्रतिक्रिया नदिई बाहिरिएका थिए । कार्यदलमा अध्यक्ष केपी शर्मा ओली पक्षबाट सुवास नेम्वाङको नेतृत्वमा विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल छन् भने नेता नेपालको पक्षबाट भीम रावलको नेतृत्वमा घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र रघुजी पन्त रहेका छन् ।
प्रतिक्रिया