स्पेनलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै इटाली फाइनलमा

काठमाडौं, २३ असार । स्पेनलाई पेनाल्टी सुटआउटमा ४-२ गोलले पराजित गर्दै इटाली युरो २०२० को फाइनलमा प्रवेश गरेको छ। इटाली सन् २०१२ पछि युरो कपको फाइनलमा पुगेको हो।बुधबार विहान सकिएको पहिलो सेमिफाइनल खेलको पेनाल्टी सुटआउटमा इटालीका लागि पहिलो पेनाल्टी हानेका लोकाटेलीको प्रहारलाई स्पेनका गोलकिपर सिमोनले विफल पारे।

स्पेनका ड्यानी ओल्मोले पनि पहिलो पेनाल्टीमा गोल गर्न सकेनन्। उनको प्रहार आकासिएको थियो। यस्तै अल्भारो मोराटाको चौथो प्रहारलाई इटालीका गोलकिपर दोनारुमाले विफल पारिदिएका थिए।

पेनाल्टीमा इटालीका बेलोटी, बोनुची, फेडेरिको बेमारडेची र जोरगिन्होले गोल गरे। यस्तै स्पेनका मोरोनो र अल्कानटाराको प्रहार मात्र सफल हुन सक्यो।

निर्धारित ९० मिनेटको खेल १९१ गोलको बराबरीमा सकिएपछि ३० मिनेटमा अतिरिक्त समय थपिएको थियो। जसमा पनि कुनै गोल हुन सकेन।

खेलको अतिरिक्त समयमा इटालीका गोलकिपर डोनारुम्माले उत्कृष्ट आफ्नो टिमको संकट टारेका थिए। ९८ मिनेटमा स्पेनका ओल्मोको प्रहारलाई उनले विफल पारेका थिए। ११० मिनेटमा इटालीका बेरारीले बललाई जाली चुमाए पनि अफसाइड भएको थियो।

त्यसअघि पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा इटालीले पहिले अग्रता लियो। इटालीका लागि फेडेरिको चिएसाले ६० मिनेटमा गोल गरेका थिए। उनले इमोबिलको पासमा गोल गरेका थिए।

त्यसअघि इटालीका इमरसनको प्रहार बारमा लाग्दा टिमले अग्रता लिने अवसर गुमाएको थियो। खेलको ८० मिनेटमा स्पेनले बराबरी गोल फर्काउन सफल भयो। स्पेनका लागि अल्भारो मोराटाले बराबरी गोल गर्न सफल भए।

मोराटालाई गोल गर्न ड्यानी ओल्मोले पास उपलब्ध गराएका थिए। मोराटा खेलको ६२ मिनेटमा फेरान टोरेशको स्थानमा मैदान छिरेका थिए। अब उपाधिका लागि इटालीले डेनमार्क वा इंग्ल्यान्ड मध्ये एक टिमसँग आगामी आइतबार प्रतिस्पर्धा गर्नेछ।

इटालीको कीर्तिमान

जितसँगै इटालीले आफ्नो अपराजित खेल संख्या ३३ खेलसम्म लम्ब्याउँदै नयाँ राष्ट्रिय रेकर्ड बनायो। यो इटाली सर्वाधिक खेलमा अपराजित रहेको खेल संख्या हो।

युरो २०२० को समूह चरणमा शतप्रतिशत जित निकालेसँगै इटालीले अन्तर्राष्ट्रिय खेलमा आफ्नो अपराजित खेल संख्या ३० पुर्‍याएको थियो। जससँगै इटालीले अपराजित खेल संख्यामा आफ्नो राष्ट्रिय रेकर्डसँग बराबरी गरेको थियो।

अन्तिम १६ मा अस्ट्रियलाई हराएपछि इटालीले नयाँ रेकर्ड बनाएको थियो। जुन रेकर्ड क्वार्टरफाइनलमा बेल्जियम र सेमिफाइनलमा स्पेनलाई हराएसँगै भंग भयो।

अहिले इटालीले सेप्टेम्बर २०१८ मा पोर्चुगलसँग पराजय भोगेपछि खेलेका ३३ अन्तर्राष्ट्रिय खेलमा हारेको छैन।

१० अक्टोबर २०१८ मा पोर्चुगलसँग १९० गोलले पराजित भएपछि इटालीले २८ खेलमा जित हात पारेको छ भने ५ खेलमा बराबरीमा रोकिएको छ।

यस्तै इटालीले सन् २०२१ मा खेलेका सबै खेलमा जित हात पारेको छ। इटालीले सन् २०२१ मा ११ खेल खेलेको छ। इटालीले ती खेलमा २९ गोल गरिसकेको छ। अपराजित खेल संख्याको रेकर्ड भने ब्राजिल र स्पेनको संयुक्त नाममा छ। दुवै टिमले लगातार ३५ खेलसम्म पराजय भोगेका थिएनन्। लगातार ३३ खेलमा अपराजित इटाली दोस्रो स्थानमा अब इटाली छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति