चिनियाँ राष्ट्रपति सीको चेतावनी : कसैको ‘दादागिरी’ स्वीकार्य छैन्

काठमाडौं, १७ असार । चिनियाँ राष्ट्रपति सी चिनफिङले कुनै पनि मुलुकले आफूमाथि गर्ने अनावश्यक हेपाहा प्रवृत्तिको सामना गर्ने चेतावनी दिएका छन्। बेइजिङको केन्द्रस्थित थ्यानआनमन चोकमा आयोजित चिनियाँ कम्युनिष्ट पार्टीको शतवार्षिकी समारोहलाई सम्बोधन गर्दै सीले चीनको थाइवान क्षेत्र लगायतमा बाह्य मुलुकबाट बारम्बार भइरहेको अवरोधप्रति संकेत गरे। पछिल्लो पटक चीनको थाइवानका लागि भन्दै हातहतियार, खोप लगायतका विषयमा अमेरिकाले चालेका कदमप्रति राष्ट्रपति सीको यो भनाइ लक्षित भएको हुनसक्ने विश्लेषकहरूले बताएका छन्।

सम्बोधनका क्रममा सीले हङकङ, मकाउ तथा थाइवान विशेष प्रशासनिक क्षेत्रको सुरक्षा र कानुनी प्रणाली कार्यान्वयन गर्नुपर्ने बताए। थाइवानको एकीकरणको दायित्व चिनियाँ कम्युनिष्ट पार्टीमा रहेको सीले बताए। उनले भने, थाइवानको मुद्दालाई सुल्झाउनु र मातृभूमिको पूर्ण पुनर्मिलन गराउनु पार्टीको अतुलनीय ऐतिहासिक लक्ष्य र चिनियाँ जनताको साझा आकांक्षा हो। हामीले मातृभूमिको शान्तिपूर्ण पुनःनिर्माणको प्रक्रिया अगाडि बढाउन एक चीन सिद्धान्तको सहमतिलाई पालना गर्नैपर्छ।

’चीनको कम्युनिष्ट पार्टीको स्थापना भएको १००औं वार्षिकोत्सवमा बोल्दै सीले पहिलो सय वर्षे लक्ष्य हासिल गरिसकेको बताउँदै समृद्ध समाज निर्माण लक्ष्य भेट्टाएको बताए। आधुनिक र शक्तिशाली समाजवादी देश निर्माण गर्ने दोस्रो शताब्दी लक्ष्यतिर केन्द्रित भएको उद्घोष गर्दै सीले सुधार र खुलापन नीति लागू गरिएयता अझै राम्रो तथा सम्पन्न समाजको निर्माण गर्ने लक्ष्य प्रस्तुत गरे।यस वर्षको आरम्भमा चीनले गरिबी उन्मुलनको कार्यभार पूरा गरेर हालै मापदण्डमा ९ करोड ८९ लाख ९० हजार ग्रामिण क्षेत्रका गरिब जनसंख्यालाई पूर्ण रूपमा विपन्नताबाट मुक्त गरिसकेको सुनाउँदै चिनियाँ कम्युनिस्ट पार्टीको महासचिव समेत रहेका सीले पार्टीका पुराना पुस्ताको सम्झना गरे।

उनले चिनियाँ कम्युनिष्ट पार्टीका अध्यक्ष माओ च तोङ, तङ स्याउ फिङ, च्याङ च मिङ, र हू चिन थाउको नाम सम्बोधनका क्रममा लिए।महासचिव सी चिनफिङले मानव जातिको सबै फाइदाजनक अनुभव सिक्दै चिनियाँ जनताले अहंकारी आलोचनाको प्रतिवगाद गर्ने बताए। उनले भने, ‘चिनियाँ कम्युनिस्ट पार्टीले र चिनियाँ जनताले आफैंले छानेको बाटोमा अघि बढ्नेछन्।’चीनले शान्तिपूर्ण विकासमा अडिग रहेर नयाँ अन्तर्राष्ट्रिय सम्बन्धको निर्माण, मानव भाग्य समुदायको निर्माण, बीआरआई उच्च गुणस्तरीय विकासको साझा निर्माणलाई अगाडि बढाएर चीनको नयाँ विकासबाट विश्वलाई नयाँ अवसर दिने पनि सीले बताए। उनले भने, ‘ चीन सधैँ नै विश्वशान्ति, विश्व विकास र अन्तर्राष्ट्रिय व्यवस्थाको रक्षक बन्नेछ। तर कसैसँग टकराव गरेर, खुलापनलाई बन्द गरेर शून्य(योगको खेल खेल्दैन र प्रभुत्ववादको विरोध गर्नेछ।’

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति