स्वास्थ्य मन्त्री तामाङको सम्पत्ति : एक सय २५ रोपनी जग्गा, २० लाखको सेयर

काठमाडौं, २७ जेठ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री शेरबहादुर तामाङले सम्पत्ति विवरण सार्वजनिक गरेका छन्।

मन्त्री तामाङले श्रीमती उषाकला राई र आफूसँग काठमाडौँ, सिन्धुपाल्चोक, मोरङ र खोटाङमा गरी १ सय २५ रोपनी जग्गा रहेको विवरण सार्वजनिक गरेका छन्। तामाङले अधिकांश सम्पत्ति श्रीमतीको नाममा रहेको र स्रोत पुर्ख्यौली भनेका छन्।

उनले सिन्धुपाल्चोकमा आफ्नो नाममा १८ रोपनी ४ आना २ पैसा २ दाम जग्गा रहेको सम्पत्ति विवरणमा उल्लेख गरेका छन्। श्रीमती उषाकला राईको काठमाडौँ गोकर्णेश्वरमा ३ आना ३ पैसा २ दाममा बनेको अडाई तले घर रहेको मन्त्री तामाङको सम्पत्ति विवरणमा उल्लेख छ।

सम्पत्ति विवरणमा श्रीमती राईको नाममा काठमाडौँ, मोरङ र खोटाङमा गरेर १०७ रोपनी जग्गा रहेको उल्लेख छ। राई प्रदेश १ की मन्त्री छन्। मन्त्री तामाङले काठमाडौँमा ६ आना २ पैसा २ दाम जग्गा पुर्ख्यौली सम्पत्ति रहेको सार्वजनिक गरेका छन्।

अधिकांश सम्पत्ति पुर्ख्यौली र श्रीमतीको नाममा रहेको उल्लेख गरेका मन्त्री तामाङले आफूसँग २२ तोला सुन रहेको सार्वजनिक गरेका छन्। एभरेस्ट बैङ्कमा २ लाख १६ हजार १२५ रुपैयाँ आफ्नो नाममा नगद रहेको उनले उल्लेख गरेका छन्।

तामाङले आफ्नो नाममा ५ लाख रुपैयाँ र श्रीमती राईको नाममा १५ लाख रुपैयाँको सेयर रहेको उल्लेख गरेका छन्। मन्त्री तामाङले श्रीमती राईसँग कार र आफूसँग मोटरसाइकल रहेको सम्पत्ति विवरणमा उल्लेख गरेका छन्।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board