मंगोलियामा राष्ट्रपतिका लागि निर्वाचन शुरु

मंगोलिया । कोरोनाभाइरस महामारी फैलिएकै समयमा मंगोलियामा बुधबार नयाँ राष्ट्रपतिका लागि मतदान शुरु भएको छ ।

कम्युनिष्ट शासन त्यागेर सन् १९९२ मा प्रजातान्त्रिक शासन व्यवस्था अंगालेको मंगोलियामा त्यसयता छैटौं पटक राष्ट्रपतिका लागि निर्वाचन हुन लागेको हो । डेमोक्रेटिक पार्टीबाट राष्ट्रपति बन्नु भएका बाटुल्गा खल्टमा भने यस पटक उम्मेदवार हुनु भएको छैन । मंगोलियाका संविधान अनुसार कुनै पनि राष्ट्रपति दुई कार्यकाल राष्ट्रपति हुन पाउँदैनन् । मंगोलियामा राष्ट्रपतिको कार्यकाल छ वर्षको हुन्छ ।

राष्ट्रपतिका उम्मेदवारहरुमा मंगोलियन पिपुल्स पार्टीबाट पूर्व प्रधानमन्त्री उखनाजिन खुरेलसुख पनि चुनावी मैदानमा थिए । यस दलको संसदमा बलियो बहुमत रहेको छ । विगतमा सैनिक सेवाबाट राजनीतिमा प्रवेश गरेका कारण खुरेलसुखले जितेमा मुलुकको सार्वजनिक मामिलामा सैनिकहरु हाबी हुन सक्ने अनुमान गरिएको छ ।

खुरेलसुखका मुख्य प्रतिस्पर्धीका रुपमा डेमोक्रेटिक पार्टीका सोड्नोजुनदुइन एर्डिन रहनु भएको छ । चुनावी पर्यवेक्षकहरुका अनुसार उहाँको स्थिति निकै कमजोर छ । उनले मंगोलियन पिपुल्स पार्टीले चुनाव जितेमा मंगोलियामा अधिनायकवाद आउने बताए । मंगोलियाको राष्ट्रपतिको पद खासगरी आलंकारिक प्रकृतिको रहेको छ । तर सेनाको नियन्त्रण र सञ्चालनका साथै कतिपय अवस्थामा विधेयकमाथि विशेषाधिकार ९भिटो० लगाउने अधिकार राष्ट्रपतिमाथि रहेको छ ।

मंगोलियामा संसद, मन्त्रिपरिषद र प्रधानमन्त्रीको कार्यालयमा देशको कार्यकारी अधिकार रहेको छ । मंगोलियाको निर्वाचन आयोगका अनुसार चुनावका लागि २१ लाख ५१ हजार व्यक्तिको नाम मतदाता सूचीमा रहेको छ । मतदान कार्य राति १० बजे समाप्त हुनेछ, तर मतपरिणाम कहिले घोषणा हुन्छ भन्ने बताइएको छैन ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board