म्याद सकियो, अक्सिजन प्लान्ट आएन

काठमाडौं । ठेक्का अवधि सकिए पनि जाजरकोटको जिल्ला अस्पतालमा अझै अक्सिजन प्लान्ट जडान भएको छैन । अक्सिजन प्लान्ट जडान नहुँदा जटिल अवस्थाका कोरोना सङ्क्रमितलाई जिल्लाबाहिर सिफारिस गर्नुपर्ने बाध्यता छ ।

जेठ १५ गतेभित्र अक्सिजन प्लान्ट जडान गर्ने गरी काठमाडौँको नेपटेक मेडिकल सप्लायर्सले ठेक्का सम्झौता गरेको थियो । कम्पनीले दुई महिनाअघि अक्सिजन प्लान्ट जडान गर्न रु ४० लाखमा ठेक्का सम्झौता गरेको थियो । अक्सिजन प्लान्ट स्थापनाका लागि आर्थिक वर्षको शुरुमै बजेट आए पनि बोलपत्र प्रक्रियामा जान ढिलाइ भएको हो ।

ठेक्का सम्झौताअनुरूपको निर्धारित समय बितिसक्दा पनि नेपटेकले अस्पतालमा अक्सिजन प्लान्ट जडानको कुनै प्रक्रिया अघि नबढाएको जिल्ला स्वास्थ्य सेवा कार्यालयले जनाएको छ । अक्सिजन प्लान्ट जडान नहुँदा अक्सिजनका सिलिण्डर भर्न नेपालगञ्ज पठाउनुपर्ने बाध्यता भएको स्वास्थ्य सेवा व्यवस्थापक टीकाराम जैशीले बताए । नेपटेकले कोरोना महामारी र लकडाउनका कारण प्लान्ट जडान गर्न नसकिएको भन्दै १५ दिनको थप समय माग गरेको छ तर कार्यालयले पाँच दिनको समय मात्र थप गरेको स्वास्थ्य सेवा व्यवस्थापक जैशीले बताए ।

उनका अनुसार निर्धारित समयभित्र काम सम्पन्न हुन नसके बढीमा पाँच दिनसम्म समय थप गर्न सकिने व्यवस्था छ । थप गरिएको समय पनि गुज्रिएपछि ठेकेदारले थप समय माग गरेको उनले बताए । नेपटेकका प्रोप्राइटर नरबहादुर लिम्बूले जेठ मसान्तभित्र अक्सिजन प्लान्ट जडान गरिने बताए । थपिएको समय पनि सकिएकाले ठेकेदारलाई कस्तो कारवाही गर्ने भन्नेबारे प्रमुख जिल्ला अधिकारीलगायतका सरोकारवालासँग परामर्श भइरहेको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ ।समयमा अक्सिजन प्लान्ट जडान नगर्दा कोरोना सङ्क्रमितलाई अक्सिजन दिन समस्या भएको जिल्ला अस्पतालका मेडिकल अधिकृत ओसरसिंह राठोरले बताए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board