विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या ३५ लाख नाघ्यो, १५ करोड बढी निको

काठमाडौँ, १३ जेठ । विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या ३५ लाख नाघेको छ ।

पछिल्लो २४ घण्टामा १२ हजार २० जनाको मृत्यु भएकोसँगै विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या ३५ लाख नाघेको हो । पछिल्लो वृद्धिसँगै मृतक संख्या ३५ लाख ११ हजार ६०५ पुगेको छ ।

कोरोनाले विश्वमा सबैभन्दा बढी संयुक्त राज्य अमेरिका प्रभावित भएको छ । हालसम्म अमेरिकामा ६ लाख ६ हजार १४६ जनाको मृत्यु भएको छ । यसैगरी ब्राजिलमा ४ लाख ५४ हजार ६२३ जनाको मृत्यु भएको छ ।

मृतकका आधारमा भारत तेस्रो स्थानमा रहे पनि दोस्रो लहरको संक्रमणको ‘हटस्पट’ बनेको छ । भारतमा पछिल्लो २४ घण्टामा ३ हजार ८४२ जनाको मृत्यु भएको छ । त्यहाँ मृतक संख्या ३ लाख १५ हजार २६३ पुगेको छ ।दैनिक संक्रमण वृद्धिका आधारमा भारत अहिले विश्वकै अतिप्रभावित मुलुकमा छ ।

भारतमा पहिलो पटक शनिबार (१८ वैशाखमा) कोरोना संक्रमितको दैनिक वृद्धि ४ लाख नाघेकोमा आज त्यो संख्या २ लाख ११ हजार ५५३ मा झरेको छ । विश्वभर निको हुनेको संख्या पनि बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा विश्वभर संक्रमितभन्दा निको हुने धेरै छन् । २४ घण्टामा ५ लाख ४८ हजार २२५ जनामा संक्रमण देखिँदा ६ लाख ९८ हजार ६९७ जना निको भएका छन् । पछिल्लो विवरण अनुसार विश्वभर निको हुनेको संख्या १५ करोड ८ लाख १० हजार १३७ पुगेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति