अब मुद्धा मिल्ने कम्युनिस्ट घटकहरुको मोर्चाबन्दी वा एकता गरेर वृहत वाम एकतामा जानुपर्छ– अध्यक्ष प्रचण्ड

काठमाडौं, १० जेठ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुद्दा मिल्ने सबै कम्युनिस्टहरुबीच ध्रुविकरण गरेर जानुपर्ने बताएका छन्।

जनयुद्धकालीन माओवादी मात्रै नभएर मुद्धा मिल्ने कम्युनिस्टहरुबीच एकता र ध्रुविकरणको आवश्यकता रहेको प्रचण्डको भनाइ छ। आइतबार पार्टी केन्द्रीय समितिको भर्चुअल बैठकलाई सम्बोधन गर्दै प्रचण्डले माओवादी विचारधारा मान्नेलाई मात्रै समेट्ने भन्दा संकुचित हुने भएकाले वृहत कम्युनिस्ट एकतामा जानुपर्ने बताए। आइतबार अपराह्न ५ :३० बजेदेखि झण्डै २ घण्टा चलेको केन्द्रीय समिति बैठकमा समसामायिक राजनीतिक परिस्थिति, दलको विधान संशोधन र स्थायी कमिटीको निर्णयका विषयमा प्रचण्डले नेताहरुलाई ब्रिफिङ गरेका थिए।

‘धेरै साथीहरुले जनयुद्धकालीन माओवादीहरु मिल्नुपर्छ भन्ने सुझाव दिनुभएको छ। ती सुझावहरु भावनात्मक रुपमा ठीकै हुन्। परिस्थिति त्यो भन्दा निकै अगाडि बढिसेको छ’, प्रचण्डको भनाइ उद्धृत गर्दै केन्द्रीय सदस्य हेमराज भण्डारीले भने,‘अब मुद्धा मिल्ने कम्युनिस्ट घटकहरुको मोर्चाबन्दी वा एकता गरेर वृहत वाम एकतामा जानुपर्छ।’

प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग एकता टुटे पनि अन्य वामपन्थी परिवर्तनकारी शक्तिसँग सकेसम्म एकता र ध्रुविकरण कायमै रहेको पनि प्रचण्डको भनाइ थियो।
प्रचण्डले एमाले–माओवादी एकतादेखि अहिलेसम्मको अवस्थालाई जोडेर राजनीतिक प्रतिवेदन ल्याउन लागेको जानकारी दिएको पनि नेता भण्डारीले बताए। एमालेसँगको एकता, त्यहाँ भएका राजनीतिक किचलो, पार्टी विभाजन र पार्टीले अपनाउने भावी कार्यदिशाका विषयलाई समेटेर प्रचण्डले प्रतिवेदन ल्याउने बताएका हुन्।

‘एमालेसँगको एकता नेतृत्वले दूरगामी सोच राखेरै गरेको भए पनि केपी कमरेडकै कारण एकता तोडियो। पहिला यति धेरै दम्भी र अहंकारी होलान् जस्तो लागेको थिएन। एकतापछि काम गर्दै जाँदा उनको पर्दा खुल्दै गयो’, प्रचण्डले केन्द्रीय सदस्यहरुको बैठकमा भने,‘तर, अन्य कम्युनिस्ट घटक र परिवर्तन पक्षधारसँग एकता र मार्चाबन्दी कायमै छ, त्यो सम्भावना बढ्दै गएको छ।’ प्रतिनिधि सभा पुनःस्थापनाको मागसहित ५ दलका तर्फबाट सोमबार सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिने पनि प्रचण्डले प्रचण्डले जनाकारी गराएको भण्डारीले बताए।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति