कोरियाबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई चार लाख ५० हजार सहयोग


२३ वैशाख:
कलाकार सीताराम कट्टेल र कुञ्जना घिमिरेको सक्रियतामा जनस्तरबाट निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि दक्षिण कोरियाबाट रु चार लाख ५२ हजार ६३० सहयोग गरिएको छ ।

यहाँ रहेका नेपालीहरूबाट ‘एक घण्टाको कमाइ, गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई’ भन्ने सहयोग अभियान सञ्चालन गरी पहिलो चरणमा सङ्कलित उक्त रकम धुर्मुस सुन्तली फाउन्डेशनलाई प्रदान गरिएको हो ।

उक्त रकम कोरियामा रहेका १०७ नेपालीको सहभागितामा जम्मा भएको थियो । रकम फाउन्डेसनको खातामा प्राप्त भएको धुर्मुस सुन्तली फाउन्डेशनले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराएको छ ।

पहिलो चरणको उक्त रकम पठाए पनि सहयोग अभियान भने निरन्तर रहने र रकम जम्मा गरी पुनः पठाउने जानकारी यहाँका अभियानकर्मीहरूले बताएका छन् । अभियानकर्मीहरूले कोरियाबासी सम्पूर्ण खेलप्रेमी दाजुभाइ तथा दिदीबहिनीमा सहयोगको अपिलसमेत गरेका छन् ।

क्रिकेट रङ्गशाला निर्माणमा विविध अवरोधहरू देखिए पनि नेपालमा अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण सम्पन्न गराई छाड्ने अठोट लिएर अगाडि बढिरहेको धुर्मुस सुन्तली फाउन्डेसनलाई सहयोग गर्नुपर्ने कुरामा एकजुट हुन आह्वान समेत गरिएको छ ।.(रासस)
–––

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति