भेरीमा अक्सिजन अभाव हुन नदिन ट्याङ्क जडान


काठमाडौं, २१ वैशाख । पश्चिम नेपालको कोरोना उपचार केन्द्र बनेको नेपालगञ्जस्थित भेरी अस्पतालले अक्सिजन अभाव हुन नदिन अक्सिजन भण्डारण ट्याङ्क जडान गरेको छ ।

कोरोना महामारीका कारण अस्पतालमा अक्सिजन अभावको अवस्था आएपछि सो समस्यालाई दीर्घकालीनरुपमा समाधान गर्न अक्सिजन ट्याङ्क जडान गरिएको अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालले जानकारी दिनुुभयो । रु ८२ लाखको लागतमा अक्सिजन लिक्युड ट्याङ्क जडान गरिएको हो । उक्त ट्याङ्कमा ३१ हजार लिटर अक्सिजन ग्यास भर्न सकिन्छ । अस्पतालको आफ्नै अक्सिजन प्लान्ट नभएकाले ट्याङ्कमा अक्सिजन भण्डार गरिनेछ ।

अक्सिजन आवश्यक पर्ने बिरामी थपिने क्रम बढेपछि अस्पताल प्रशासनले दीर्घकालीन समाधानको बाटो खोजेको हो । केही दिनभित्रै ट्याङ्क सञ्चालनमा आउने अध्यक्ष धितालले बताउनुभयो । अस्पतालको कोभिड वार्डमा बिरामीको चाप बढेसँगै अक्सिजनको माग पनि बढेको छ । दैनिक २५० देखि ३०० थान अक्सिजन सिलिन्डर खपत भइरहेको अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा प्रकाश थापाले बताउनुभयो ।

सामान्य अवस्थामा अस्पतालमा दिनमा १० देखि १५ ठूला अक्सिजन सिलिन्डर मात्रै प्रयोग हुने गरेकामा कोभिडका धेरै बिरामीमा अक्सिजनको माग बढेकाले खपत बढेको हो । अस्पतालमा रहेका अधिकांश बिरामी अहिले अक्सिजनसहित उपचार कक्षमा छन् । “कोभिडको महामारी नहुँदा अस्पतालमा दैनिक १५÷२० सिलिन्डर ल्याउने, प्रयोग गर्ने अनि खाली सिलिन्डर फेरि भर्न प्लान्टमा पठाउने गरिन्थ्यो, अहिले माग बढेपछि कठिनाइ भएको हो”, डा थापाले भन्नुभयो, “सिलिन्डर भर्ने, लोड गर्ने झन्झटिलो प्रक्रिया भएकाले लिक्विड अक्सिजन ट्याङ्क जोड्ने योजना अघि सारेका हौँ ।”

एउटा अक्सिजन सिलिन्डरका लागि रु ९१५ खर्च हुन्छ । नेपालगञ्जमा दुई वटा मात्रै अक्सिजन सिलिन्डर आपूर्तिकर्ता छन् । ती दुवैले भारतको एउटै कम्पनीबाट तरल अक्सिजन आपूर्ति गरी सिलिन्डर भरेर नेपालगञ्जका विभिन्न अस्पतालमा दिने गरेका छन् । कोरोना भाइरस सङ्क्रमित बिरामीको शरीरमा अक्सिजनको मात्रा घट्दै जाँदा अक्सिजन दिएर बचाउन सकिने डा थापा बताउनुहुन्छ । (रासस)

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति