भारतका पाँच राज्यमा मतगणना जारी, बङ्गालमा त्रिणमुलको अग्रता



नयाँ दिल्ली, १९ बैशाख – भारतको एक केन्द्र शासित प्रदेश समेत पाँच राज्यमा हालै सम्पन्न विधानसभाको निर्वाचनको मतगणना आज बिहानैदेखि जारी छ ।
चुनावको प्रारम्भिक विवरण अनुसार मतपरिणाम प्रारम्भिक नतिजा मिश्रित किसिमको आएको छ ।

यसपटक पश्चिम बङ्गाल, असम, केरला र तमिलनाडू राज्य तथा केन्द्र शासित पुडुचरी राज्यमा चुनाव भएको हो ।

सबैभन्दा ठूलो राज्य पश्चिम बङ्गालमा मुख्यमन्त्री ममता बनर्जीको दल त्रिणमुल कङ्ग्रेसले लगातार तेस्रो पटक चुनाव जितेर सरकार बनाउने प्रयत्नमा छ भने यहाँ भारतीय जनता पार्टीले त्रिणमुलमाथि कडा टक्कर दिने अनुमान गरिएको छ ।

मध्यान्हसम्मको मतगणनामा कूल २९२ सिट रहेको पश्चिम बङ्गालमा त्रिणमुल कङ्ग्रेसले १७७ तथा भारतीय जनता पार्टीले १०९ स्थानमा अग्रता बनाएका छन् । लामो समय शासन गरेको कम्युनिष्ट पार्टी माक्र्सवादी समेतको गठबन्धनले ४ स्थानमा अग्रता बनाएको छ ।

यस्तै २३४ सिट रहेको तमिलनाडूमा डिएमकेको गठबन्धनले १४१ स्थानमा अग्रता बनाएको छ भने एआइएडिमकेले ८७ स्थानमा अग्रता कायम गरेको छ । यसैगरी, १४० सिट रहेको केरलामा एलडिएफले ८० तथा युडिएफले ४८ स्थानमा अग्रता बनाइरहेका छन् ।

असम राज्यमा भने सत्तारुढ भारतीय जनता पार्टीको गठबन्धन (एनडिए) अग्रस्थानमा छ । कूल १२६ सिट रहेको असममा एनडिएले ७४ र भारतीय राष्ट्रिय कङ्ग्रेसको गठबन्धन (युपिए) ले ५२ स्थानमा अग्रता बनाएका छन् ।

यस्तै ३० सिट रहेको पुडुचरीमा एनडिएले १५ र युपिएले ८ स्थानमा अग्रता बनाएका छन् ।

मतगणनाको अन्तिम नतिजा आजै साँझसम्ममा प्राप्त हुने अनुमान गरिएको छ ।(एएनआई)
––

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board