वाग्मती, ८ वैशाख
मकवानपुरको हेटौँडामा कागजको ग्लास उद्योग सञ्चालनमा आएको छ । चिनियाँ प्रविधिका यन्त्र र आवश्यक सामग्रीसहित रु ३० लाखको लागतमा हेटौँडा उपमहानगरपालिका–५ मा डाँफेमा पेपर कप उद्योग सञ्चालनमा आएको हो । पछिल्लो समय अत्यधिक प्रयोगमा आएको कागजको ग्लासको माग बजारमा धेरै रहेकाले उद्योग सञ्चालनमा ल्याइएको सञ्चालक जनकराज न्यौपाने बताउनुभयो ।
उद्योगलाई १२ घण्टा सञ्चालनमा ल्याउँदा दैनिक ३२ हजार थान कप उत्पादन गर्ने लक्ष्य रहेको बताइएको छ । एक सय ५० मिलिलिटरको कप उत्पादन गर्ने सो उद्योगबाट सात जनालाई रोजगारी दिइएको छ केही दिन अगाडि स्थापित सो उद्योग अहिले परीक्षणमै छ ।
हेटौँडामा यो पहिलो र एक मात्र उद्योग सञ्चालनमा आएको जनाइएको छ । परीक्षणपछि डाँफे छाप कप सहुलियत मूल्यमा बजारमा उपलब्ध गराइने बताइएको छ ।
–––
प्रतिक्रिया