काठमाडौं । प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले खेलमा ‘म जित्छु वा सिक्छु तर हार्दिन’ भन्ने उच्च भावनाका साथ खेलाडीले खेल्नुपर्ने बताए । जिल्ला खेलकुद विकास समिति र मोरङको बेलबारी नगरपालिकाले आयोजना गरेको ‘राष्ट्रपति रनिङ्ग शिल्ड तथा अन्तर विद्यालय खेलकुद प्रतियोगिता’ को आज बेलबारीमा उद्घाटन गर्दै उनले खेलकूद प्रतिस्पर्धाको प्रतियोगिता भएकोले यसबाट एक आपसमा भाइचाराको विकास हुनुका साथै मानवजीवन सफल बनाउन सकिने चर्चा गरे ।
बेलबारी नगरपालिकाका नगरप्रमुख ज्ञानेन्द्र सुवेदी, उप प्रमुख ढाका कुमारी पराजुलीलगायतले खेलकुदको माध्यमबाट समाजमा अनुशासन कायम हुने विचार व्यक्त गरे । प्रतियोगितामा जिल्लाका १७ स्थानीय तहका कक्षा नौदेखि कक्षा १२ सम्म अध्ययन गर्ने विद्यार्थीको सहभागिता छ । एथलेटिक्स, फुटबल, भलिवल, टेबुलटेनिस, कवड्डी, जुडो, कराँतेलगायतका प्रतियोगिता हुने आयोजकले जनाएका छन् ।
प्रतिक्रिया