म्यान्मारमा थप रक्तपात : एकै दिन कम्तीमा ११४ जना प्रदर्शनकारी मारिए

यांगुन/म्यान्डले , १५ चैत्र ।  म्यान्मारमा सैनिक ‘कु’ विरुद्ध शनिबार गरिएका प्रदर्शनका क्रममा सुरक्षाकर्मीले गोली चलाउँदा दर्जनौं प्रदर्शनकारी मारिएका छन् ।

यांगुनमा शनिबार सेनाको गोली लागेर आफन्तको मृत्यु भएपछि शोकविह्वल परिवार तस्बिर : रोयटर्स

प्रदर्शनमा ११४ जना मारिएको स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ । ‘म्यान्मार नाउ’ अनलाइनले १३ वर्षीया किशोरीसहित कम्तीमा ११४ जना मारिएको उल्लेख गरेको छ । प्रदर्शनका क्रममा २० जनाभन्दा बढी बालबालिका मारिएका छन् भने हालसम्म मारिएकाको संख्या ४ सय नाघेको छ ।

सेना प्रमुख मीन ह्यालिङले सशस्त्र फौज दिवसका क्रममा टेलिभिजनमार्फत सम्बोधन गर्दै देशमा निष्पक्ष चुनाव गर्ने प्रतिबद्धता दोहोर्‍याएका छन् तर उनले चुनावको मितिबारे केही उल्लेख नगरेको बीबीसीले जनाएको छ । ३० मिनेट लामो भाषणका क्रममा ह्यालिङले ‘सेनाले म्यान्मारका जनतालाई बचाउने र लोकतन्त्रप्रति उनीहरूको तिर्खा मेटाउने’ जनाएका थिए ।

तस्बिर : एपी

जुन्ता शासकले राजधानी नेइपिडअमा ७६ औं सशस्त्र फौज दिवस मनाइरहँदा लोकतन्त्र पक्षधरहरूले ‘सैनिक तानाशाहीविरुद्धको दिवस’ भन्दै प्रदर्शन चर्काएका थिए । त्यसक्रममा राजधानी नेइपिडअ, यांगुन र म्यान्डले सहरमा सुरक्षाकर्मीले दमन गरेको हो । दिवसका अवसरमा आयोजना गरिने विशेष सैन्य परेडमा विगतका वर्षहरूमा विदेशी अधिकारीहरूको उल्लेख्य उपस्थिति हुने गर्थ्यो । शनिबार भने विदेशी पाहुना रुसी उपरक्षामन्त्री एलेक्सेन्डर फर्मिनमात्र उपस्थित थिए । आफ्नो भाषणका क्रममा ह्यालिङले ‘रुस आफ्नो सच्चा मित्र भएको’ बताएका थिए । म्यान्डले सहरमा १३ वर्षीया किशोरीसहित कम्तीमा ४० जनाको ज्यान गएको स्थानीयलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ । २७ जना यांगुनमा मारिएका छन् ।

त्यसैगरी, थाइल्यान्डसँगको सीमा क्षेत्रमा १० जनाले ज्यान गुमाएको जनाइएको छ । सागइङ्ग, लास्हिओ, बागोलगायत २८ स्थानमा सुरक्षाकर्मीको गोलीले अन्य प्रदर्शनकारी मारिएका हुन् । म्यान्मारस्थित अमेरिकी दूतावासले ‘सुरक्षाफौजले निहत्था नागरिकको हत्या’ गरिरहेको जनाएको छ ।

सेनाले फेब्रुअरी १ मा सत्ता कब्जा गरेपछि लोकतन्त्र पक्षधरहरू आन्दोलित भइरहेका छन् । उनीहरूले देशका प्रमुख सहरहरूमा दिनहुँजसो सरकारविरोधी प्रदर्शन गर्दै आएका छन् । यसअघिका प्रदर्शनमा ३ सय २८ को ज्यान गइसकेको छ । संयुक्त राष्ट्रसंघका अनुसार पत्रकार तथा अधिकारकर्मीसहित सयौं मानिस प्रहरी नियन्त्रणमा छन् ।

सेनाले सत्ता हातमा लिएसँगै लोकतन्त्रवादी नेत्री तथा नेसनल लिग फर डेमोक्रेसी (एनएलडी) प्रमुख आङ सान सुचीलाई नियन्त्रणमा राखेको छ । नोभेम्बरमा भएको चुनावमा सुचीको दल (एनएलडी) अत्यधिक मतसहित विजयी भएको थियो तर सेनाले निर्वाचनमा धाँधली भएको आरोप लगाउँदै आएको छ ।

स्वतन्त्र अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूले भने सन् २०२० को नोभेम्बरमा भएको निर्वाचनमा धाँधली नभएको बताउने गरेका छन् । उनीहरूले निर्वाचनका क्रममा कुनै पनि किसिमको अनियमितता भएको सूचना वा प्रमाण नपाएको जनाएका छन् ।

सेनाको दमनविरुद्ध उत्रिएका प्रदर्शनकारी तस्बिर : रोयटर्स

सैनिक ‘कु’ सँगै सुचीसहित एनएलडीका दर्जनौं नेतालाई पक्राउ गरिएको थियो । पक्राउ पर्नुअघि नै भाग्न सफल एनएलडीका सांसदहरूले सीआरपीएच नामको एउटा समिति गठन गरेका छन् । सीआरपीएचले सैनिक सरकारविरुद्धको क्रान्ति नरोकिने भन्दै पछिल्ला दिनमा आन्दोलन चर्काएको छ । सैनिक सरकारले सुचीमाथि विभिन्न ५ वटा मुद्दा लगाइसकेको छ तर ती आरोपबारे कुनै प्रमाण सार्वजनिक गरिएको छैन । एनएलडी नेत्री सुचीले आफूविरुद्धका आरोपहरू अस्वीकार गर्दै आएकी छन् ।

पछिल्लो समय म्यान्मारमा सैनिक ‘कु’ विरोधी प्रदर्शन चर्कंदै गएपछि अमेरिका, बेलायत, क्यानडा, संयुक्त राष्ट्रसंघ, युरोपेली संघलगायतले सैनिक नेतृत्वमाथि प्रतिबन्ध घोषणा गरिसकेका छन् । सेनाले जननिर्वाचित सरकार बहाली गरी पक्राउ परेका लोकतन्त्र पक्षधर नेताहरूलाई बिनासर्त रिहा गर्नुपर्ने उनीहरूको माग छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board