नयाँदिल्ली, ११ चैत्त । भारतमा गत २४ घण्टामा कोरोना संक्रमणबाट २७५ जनाको मृत्यु भएको छ । थपिएका मृतकसँगै कूल मृतकको सङ्ख्या एक लाख ६० हजार ४४१ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ।
चौबीस घण्टाको अबधिमा ४७ हजार २६२ जना थप व्यक्तिमा कोरोना संक्रमणको पुष्टि भएको छ । हालसम्म कूल संक्रमितको सङ्ख्या एक करोड १७ लाख ३४ हजार ५८ पुगेको मन्त्रालयले जनाएको छ । कूल संक्रमितमध्ये तीन लाख ६८ हजार ४५७ जनामा संक्रमण सक्रिय रहेको छ । एक करोड १२ लाख ५ हजार १६० जना संक्रमणमुक्त भएका छन् । भारतमा गत् जनवरी महिनामा कोभिड विरुद्धको खोप अभियान सुरु भए यता हालसम्म करीब पाँच करोडले कोरोना विरुद्धको खोप लगाएका छन् ।
भारतीय चिकित्सा अनुसन्धान परिषद्का अनुसार सोमबारसम्म भारतमा २३ करोड ६४ लाख ३८ हजार भन्दा बढी व्यक्तिको कोरोना परीक्षण गरिएको छ । मंगलबार एकै दिनमा १० लाख २५ हजार भन्दा बढीको कोरोना परीक्षण गरिएको समाचारमा जनाइएको छ ।
यसैवीच छिमेकी मुलुक भारतमा कोरोनाको सङ्क्रमण पुनः बढदै गएपछि रोकथामका लागि प्रदेश नं २ का आठ जिल्लामा रहेका सीमा नाकामा उच्च सतर्कता अपनाइएको छ । सशस्त्र प्रहरी बल नेपाल छिन्नमस्ता बाहिनी मुख्यालय प्रदेश नं २ महोत्तरीका अनुसार पूर्वको सप्तरीदेखि पश्चिमको पर्सासम्म ४६४ किलोमिटर दक्षिण सीमा क्षेत्र भारतसँग जोडिएकाले उक्त नाकामा कडाइ गरी उच्च सतर्कता अपनाइएको छ । प्रदेश नं २ को भारतीय सीमासँग जोडिएको नाकामा ६७ बिओपी र ३५ एफओपीको पोष्ट रहेका छन् । ती पोष्टमा तैनाथ सशस्त्र प्रहरीलाई भारतबाट आउने मानिसलाई कडाइका साथ जाँच गर्ने निर्देशनसमेत दिइएको छ
प्रतिक्रिया