लागुऔषध लतले पाइपले घाँटीमा थिची श्रीमतीको हत्या

काठमाडौं । लागुऔषधको लतमा फसेका एक व्यक्तिले आफ्नै श्रीमतीको हत्या गरेका छन् । काठमाडौँको बल्खुस्थित सुकुम्बासी बस्तीमा बस्दै आएका सन्तोष सापकोटाले श्रीमती सन्तोषी श्रेष्ठलाई हथौडाले हानेर हत्या गरेको महानगरीय प्रहरी परिसर काठमाडौँको दाबी छ ।

घटनामा सवुध प्रमाणसहित सापकोटालाई पक्राउ गरी आज परिसरमा सार्वजनिक गर्ने क्रममा प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले भने “हत्यापछि शवलाई तन्नामा पोको पारी बोरामा हालेर फ्याक्ने प्रयास गरेको पाइयो ।” अभियुक्त श्रीमतीले लगाएका गरगहना तथा नगद पैसा भने लिएर भागेका थिए ।

घटना सोमबारको हो । मृतक श्रेष्ठको टाउकाको बायाँपट्टी गहिरो चोट, घाँटीमा नीलडाम देखिएको प्रहरीले जनाएको छ । सापकोटा यसअघि लागुऔषध मुद्दामा कारागार चलान भई कैद भुक्तान गरेर छुटेका व्यक्ति हुन् । छुटेपछि पनि उनले लागुऔषध भने छाडेका थिएनन् ।

घटनापछि उनी नगद रु २३ हजार, श्रीमतीले लगाएका सुनका मुन्द्रा, बाला, सिक्री र श्रीमतीको आइफोनसमेत लिएर फरार भएका थिए । भाग्दै हिँडेका उनलाई प्रहरीले मङ्गलबार काठमाडौँको बल्खुस्थित फलफूल बजारबाट पक्राउ गरेको थियो । परिसरमा आज पत्रकार सम्मेलनमार्फत अभियुक्त र बरामद सामग्री सार्वजनिक गर्दै प्रमुख सिंहले विवाह भएदेखि नै उनीहरु बीच मत नमिलेको पाइएको बताए । प्रारम्भिक अनुसन्धानमा सापकोटाले पारपाचुके गर्न पटकपटक दबाब दिँदै आएको पाइएको छ । उनीमाथि प्रहरीले काठमाडौँ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान थालेको जनाएको छ ।

यस्तै अर्को हत्या घटनाको समेत अनुसन्धान सम्पन्न गरी प्रहरीले सार्वजनिक गरेको छ । प्राप्त विवरणअनुसार टोखा नगरपालिका बस्ने २२ वर्षका आशिष लिम्बूलाई पाइपले घाँटीमा थिची हत्या गरी फरार भएका रौतहटका अब्दुल आलम, भारत मोतिहारीका भूपेन्द्रकुमार शाह र मोटरसाइकल वर्कसप सञ्चालक मोहम्मद कासिम मञ्सुरीलाई पक्राउ गरिएको छ ।

हत्यापछि उनीहरुले शवलाई नजिकैको सडक छेउमा बाँसको झाङ्मा लगेर फ्याँकेका थिए । प्रहरी टोलीले उनीहरुलाई विभिन्न क्षेत्रबाट पक्राउ गरी आज सार्वजनिक गरेको हो । उनीहरुले मोहम्मद कासिम मञ्जुरीको मोटरसाइकल वर्कसपमा हत्या गरेको खुल्न आएको छ । घटनाको थप अनुसन्धान जारी रहेको जनाइएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति