आज माओवादी केन्द्रको स्थायी कमिटी बैठक , सत्ता समीकरणको विषय छलफलमा

काठमाडौं, २९  फागुन ।   नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दैछ ।

बैठकमा नयाँ सरकार गठनका लागि नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग भएको छलफल र सम्भावित समीकरणको विषयमा छलफल हुने जनाइएको छ ।

बिहान ९ बजे डाकिएको बैठकमा माओवादी केन्द्र छाडेर एमालेमा प्रवेश गरेका नेता रामबहादुर थापालगायत २३ जनालाई माओवादी केन्द्रमा नै फर्कन आह्वान गर्ने नेता गणेश साहले जानकारी दिए ।

मातृ पार्टीमा नै फर्कने मौका दिँदा पनि नफर्किएमा उनीहरूलाई कारबाही गर्ने माओवादी केन्द्रको तयारी छ ।

यस्तै एमाले नेता माधव कुमार नेपाल, झलनाथ खनाललगायतकालाई अध्यक्ष केपी ओलीले जिम्मेवारी खोस्दै अघि बढेको विषयमा पनि बैठकमा छलफलको तयारी भएको जनाइएको छ ।

नेकपा एमालेले शुक्रबार माधव नेपाल पक्षलाई खबरै नगरी विभिन्न पार्टी कमिटी पुनर्गठन गरेको थियो ।

माधव नेपाल पक्षको शुक्रबारै बसेको स्थायी कमिटी बैठकले समानान्तर कमिटी बनाउने निर्णय गरेको थियो ।

साविक नेकपा हुँदा प्रचण्ड–माधव मिलेर ओलीविरुद्ध आन्दोलन गरेका थिए ।

फागुन २३ मा सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र व्युँताइदिएपछि ओली पार्टी कमिटी र संसदीय दलमा बहुमतमा छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति