मुलुकको समृद्धिका लागि स्थिरता आवश्यक छ : अध्यक्ष गोल्छा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले मुलुकको समृद्धिका लागि स्थिरता र स्थायित्व हुनुपर्ने बताए ।

पर्वत उद्योग वाणिज्य सङ्घको २८ औँ साधारण सभा तथा १७ औँ अधिवेशनको आज उद्घाटन गर्दै उनले मुलुकमा स्थिर सरकार, राजनीतिक स्थिरता र स्थायित्व काम भएमा मात्र समृद्धिको वातावरण बन्ने बताए ।

अध्यक्ष गोल्छाले मुलुकमा आर्थिक विकासका थुप्रै सूचकको प्रचुर सम्भावना रहे पनि लगानीको अभाव रहेको बताउँदै अस्थिरताका कारण जोखिम बढ्दै गएको बताए । “जबसम्म मुलुकले राजनीतिले स्थायित्वको मार्ग पक्डदैन, मुलुकको समृद्धिका लागि राजनीतिक दलहरु एकजुट हुन सक्दैनन्, तबसम्म उद्योग, कलकारखानामा लगानी गर्न कोही पनि तयार हुँदैन”, उउनले भने, “व्यवसायीको सुरक्षाका लागि राज्य गम्भीर बन्नुपर्दछ ।” अध्यक्ष गोल्छाले राज्यले लगानीको सुनिश्चितता गर्ने, लगानीकर्तालाई प्रवद्र्धन गर्ने र उनीहरुको सुरक्षाको ग्यारेण्टी लिनुपर्नेमा जोड दिए ।

उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले मुलुकका उद्योगी, व्यवसायीको सुरक्षाका लागि महासङ्घ निरन्तर सक्रिय रहेको बताउँदै निजी क्षेत्रनै मुलुकको समृद्धिको प्रमुख साझेदार रहेको उल्लेख गरे । राज्यले जिम्मेवारी लिने हो भने लगानीको अभाव नहुने उललेख गर्दै उनले उद्योग, पर्यटन, कृषि क्षेत्रको लगानीबाट नै मुलुक समृद्ध बन्न सक्ने बताए ।

जिल्ला समन्वय समिति पर्वतका अध्यक्ष मनोहर बी पौडेलले मुलुकको आर्थिक समृद्धिका लागि तीन खम्बे अर्थनीतिलाई अबलम्वन गर्नुपर्ने बताउँदै सरकार र निजी क्षेत्रको साझेदारीमा सञ्चालित आयोजना नै दिगो हुने धारणा व्यक्त गरे ।

कार्यक्रममा फलेवास नगरपालिकाका नगरप्रमुख पदमपाणि शर्मा, जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल, पैंयु गाउँपालिकाका अध्यक्ष खगेन्द्र तिवारी, कुश्मा नगरपालिकाका उपप्रमुख सीता काफ्ले लामिछानेलगायतले मुलुकको विकास र समृद्धिका लागि सबै दलले एकतावद्ध भएर आगाडि बढ्नुपर्ने बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति