काठमाडौं । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले सरकारको प्राथमिकतामा नपरेको कारण भोजपुरी भाषाको अपेक्षित विकास हुन नसकेको बताए । वीरगञ्जको गहवामा आज आयोजित एक समारोहबीच भोजपुरी प्रतिष्ठानको भवन शिलान्यासका क्रममा मुख्यमन्त्री लालबाबु राउत गद्दीले लामो समयसम्म एउटै भाषा एउटै वेशको नीति राज्यले अङ्गीकार गरेको कारण अति नै समृद्ध मानिने भोजपुरीलगायत अन्य भाषाहरूको विकास हुन नसकेको तर्क गरे ।
अन्तर्राष्ट्रिय मातृभाषा दिवसका अवसरमा भोजगरी प्रतिष्ठानको भवनको शिलान्यास गरिएको हो । करीब रु चार करोड लागतमा चार तले आधुनिक भवन बन्न लागेको हो । उहाँले नेपाल र सीमावर्ती भारतीय क्षेत्रमा गरी ३५ करोडभन्दा बढीले बोलचालमा प्रयोग गर्ने भोजपुरी भाषा अति नै समृद्ध भए पनि यसको विकासका लागि राज्यले देखाएको उदासीनताकै कारण भोजपुरीपछि पर्दै गएको बताए ।
भोजपुरी भाषा र संस्कृतिको बृहत्तर विकासका लागि प्रदेश सरकारले निकट भविष्यमै प्रदेशस्तरी भोजपुरी प्रतिष्ठान गठन गरी आउने आर्थिक वर्षको नीति तथा कार्यक्रममा राखेर बजेटसमेत विनियोजन गर्ने मुख्यमन्त्री गद्दीले प्रतिबद्धता व्यक्त गरे । सो अवसरमा प्रदेश नंं २ का भौतिक निर्माण तथा पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले राजन्त्रमा खस भाषाको मात्र विकासका लागि काम भए पनि मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि सबै भाषाहरूलाई विकास गर्ने वातावरण निर्माण हुँदै गएको बताए ।
उनले अब प्रदेश र स्थानीय तहसमेतले आ–आफ्नै कामकाजको भाषा कायम गर्न सक्ने संविधानले नै अधिकार दिएको बताए । भोजपुरी भाषा र संस्कृतिको विकासका लागि प्रदेश सरकारले कुनै कसर बाँकी नराख्ने र वीरगञ्जमा निर्माण हुन लागेको भोजपुरी प्रतिष्ठानको भवनका लागि सक्ने आर्थिक सहयोग गर्ने उनले प्रतिबद्धता व्यक्त गरे ।
भोजपुरी प्रतिष्ठानका संरक्षकसमेत रहेका वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख विजयकुमार सरावगीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रम्मा जनता समाजवादी पार्टी नेपालका नेता एवम् प्रतिनिधिसभा सदस्य लक्ष्मणलाल कर्ण, प्रतिनिधिसभा सदस्य प्रदीप यादव, नेपाल पत्रकार महासङ्घ प्रदेश नं २ का अध्यक्ष दीपेन्द्र चौहानलगायत वक्ताले भोजपुरी भाषालाई सरकारी कामकाजको भाषमा रुपमा प्रयोग गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा वीरगञ्जका नगरप्रमुख सरावगीले निकट भविष्यमै भोजपुरी भाषालाई वीरगञ्ज महानगरपालिकाले कामकाजको भाषा बनाउने र यसतर्फ गृहकार्य भइरहेको जानकारी दिए ।
प्रतिक्रिया