अमेरिका र ओमानसँगको सिरिजका लागि ३२ खेलाडी छनोट

नेपाल क्रिकेट सङ्घ (क्यान)ले अमेरिका र ओमान सिरिजका लागि ३२ खेलाडी छनोट गरेको छ । क्यानले आगामी मार्चमा हुने आइसिसी विश्वकप क्रिकेट लिग–२ का लागि पहिलो चरणमा ३२ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको हो ।

नयाँ प्रशिक्षक डेभ ह्वाटमोर र छनोट समितिसितको समन्वयमा क्यानले खेलाडी छनोट गरेको हो । पहिलो पटक विवेक यादव, हरिशङ्कर शाह, अनुज चनारा, खड्गबहादुर बोहोरा र अर्जुन कुमाल बन्द प्रशिक्षणका लागि क्यानको छनोटमा परेका छन् । लामो समयपछि रामनरेश गिरी, पृथु बाँस्कोटा, कृष्ण कार्की र सौरभ खनाल पनि बन्द प्रशिक्षणका लागि छनोट भएका छन् ।

ओमानसँग नेपालले एकदिवसीय त्रिकोणात्मक सिरिज खेल्ने छ । क्यानले हालै सम्पन्न प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा गरेको प्रदर्शनलाई आधार बनाएर बन्द प्रशिक्षणका लागि बोलाएको हो ।

नेपालले आगामी चैत ६ देखि १५ गतेसम्म ओमानमा त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्ने छ । उक्त सिरिजमा नेपालले ओमान र अमेरिकासँग प्रतिस्पर्धा गर्नेछ ।

बन्द प्रशिक्षणमा बोलाइएका अन्य खेलाडीमा विक्रम सोब, राजेश पुलामी, रोहित पौडेल, सुशन भारी, साहब आलम, सन्दीप जोरा, कमलसिंह ऐरी, आशिफ शेख, सुनिल धमला, कुशल भुर्तेल, ललितनारायण राजवंशी, कृष्ण कार्की, पवन सरार्फ, शरद भेषावकर, अभिनास बोहरा, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, कुशल मल्ल, करण केसी, सन्दीप लामिछाने, विनोद भण्डारी, पारस खड्का र ज्ञानेन्द्र मल्ल रहेका छन् । बन्द प्रशिक्षण शनिबारदेखि शुरु हुने क्यानले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति