मध्यविन्दु नगरपालिकाले बेरोजगार युवालाई सहुलियत ऋण दिने

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु नगरपालिकाले बेरोजगार युवालाई स्वरोजगार बनाउन सहुलियत दरमा ऋण दिने प्रक्रिया शुरुआत गरेको छ । यस सम्बन्धी नगरपालिका र कृषि विकास बैंकबीच सम्झौता समेत भएको छ ।

नगरपालिकाले चालु आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममा समावेश गरेको ‘युवा स्वरोजगार’ कार्यक्रम सञ्चालनका लागि नगरपालिका र कृषि विकास बैंकबीच सम्झौता भइसकेको नगरप्रमुख चन्द्रबहादुर रानाले जानकारी दिए ।

वैदेशिक रोजगारबाट फर्किएका युवा तथा गाउँका अन्य बेरोजगार युवालाई स्वरोजगार बनाउने कार्यक्रमअन्तर्गत नगरपालिकाले रु एक करोड ५० लाख रकम विनियोजन गरेको थियो । नगरपालिकाले विनियोजन गरेको बजेटमा बैंकले समेत रु एक करोड ५० लाख थप गर्दै रु तीन करोड ऋण प्रवाह गर्ने सम्झौता भएको उनले बताए ।

सो द्विपक्षीय सम्झौतामा नगरपालिकाको तर्फबाट नगरप्रमुख राना, प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद सापकोटा तथा बैंकको तर्फबाट गण्डकी प्रदेश कार्यालय पोखराका प्रबन्धक रघुनाथ न्यौपाने र कावासोती शाखा प्रमुख भुवनेश्वर पाण्डेले हस्ताक्षर गरेका छन् । नगरपालिका र बैंकबीच सम्झौतामा हस्ताक्षर भएपछि अब बैंकले सहुलियत दरमा युवालाई ऋण प्रवाह गर्ने नगरप्रमुख रानाले बताए । उनका अनुसार बैंकले पुरुषका लागि साढे तीन प्रतिशत र महिलाका लागि दुई प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउनेछ ।

वैदेशिक रोजगारबाट फर्किएका तथा स्वदेशमा नै उद्यम गर्न चाहने युवालाई कार्यक्रममार्फत सहुलियतदरमा ऋण उपलब्ध गराउन सिफारिस गरिने छ । उद्यमी बन्न चाहने बेरोजगार युवाले रु ५० हजारदेखि रु १५ लाखसम्म ऋण पाउने र सो ऋण पाँच वर्षभित्र चुक्ता गर्नुपर्ने छ । “पाँच वर्षभित्र ऋण चुक्ता गर्ने गरी युवाहरुसँग सम्झौता गरेर ऋण प्रवाह गराउने तयारी गरेका छौँ”, नगरप्रमुख रानाले भने, “आवश्यकतानुसार ऋण चुक्ता गर्नुपर्ने मिति थप हुन पनि सक्छ ।”

आफ्नै गाउँमा केही उद्यम गर्न चाहने युवालाई उपलब्ध गराइने सहुलियत दरको ऋण फलदायी हुने प्रबन्धक न्यौपानेले जानकारी दिए । सहुलियत कर्जा लिएर नतिर्ने प्रवृत्ति रोक्नका लागि नगरपालिकासँग सहकार्य गरेर अगाडि बढिएको उहाँको भनाइ छ । ‘वैदेशिक फिर्ती युवा स्वरोजगार कार्यक्रम’ नामाकरण गरिए पनि यो योजनामार्फत विदेश नगएका वा जान नचाहने युवालाई पनि समावेश गरिने नगरपालिकाले जनाएको छ ।

नगरपालिकाभित्र करिब तीन हजार युवाले बेरोजगार रहेको बताइएको छ ।“नगरभित्र तीन हजार युवा बेरोजगार रहेको तथ्याङ्क हामीसमक्ष आएको छ”, नगरप्रमुख रानाले भने, “हामीलाई उपलब्ध भएको तथ्याङ्क नै बेरोजगार युवाको सङ्ख्या हो भनेर भन्न सकिने अवस्था चाहिँ छैन ।” युवालाई ऋण प्रवाह गर्ने प्रक्रिया अगाडि बढेको नगरपालिकाले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति