सिमसारको संरक्षण गर्नुपर्दछ : मुख्यमन्त्री गुरुङ

काठमाडौं, २० माघ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पानी र सिमसार क्षेत्रको संरक्षण, व्यवस्थापन र बुद्धिमतापूर्वक उपयोगका लागि हार्दिक अपिल गरे । विश्व सिमसार दिवसका अवसरमा गण्डकी प्रदेश राजधानी पोखरामा आज आयोजित कार्यक्रममा आफ्नो सन्देशमार्फत उनले भने – छ सिमसार क्षेत्र जैविक विविधताले सम्पन्न हुन्छन् र यिनले पानीमा रहेका प्रदूषण र फोहोरमैलालाई छाँदेर पृथ्वीको सतहलाई स्वच्छ र स्वस्थ राख्दछन् ।

स्वच्छ र स्वस्थ सिमसार क्षेत्रले प्रकृति र संस्कृतिलाई बचाएर राख्नुपर्नेमा जोड दिँदै उनले मौसमलाई सफा राख्न र पानीको चक्रलाई नियमित राख्न सिमसार क्षेत्रको महत्वपूर्ण भूमिका रहने भएकाले यसको उचित व्यवस्थापन र संरक्षणमा लाग्न आग्रह गरे ।

“बाढी पहिरोले गर्दा हामीले हाम्रो प्रदेशमा गत वर्ष मात्र १२७ जना प्रदेशवासी दिदीबहिनी तथा दाजुभाइले अकालमा ज्यान गुमाउनु प¥यो”, उनले आफ्नो सन्देशमा भने, “पहाडी क्षेत्रमा अहिले पनि एक गाग्री पानी लिन पाँच घण्टासम्म लाग्ने गरेको अवस्थाको अन्त्य गर्न प्रदेश सरकारले ‘एक घर एक धारा’ अभियान सञ्चालन गरेको छ ।”

गण्डकी प्रदेशमा भएका तालको संरक्षण गर्ने, विकास गर्ने र त्यहाँबाट उत्पादन हुने वातावरणीय सेवा र वस्तुको सतत उपयोग गर्ने उद्देश्यले हामीले गण्डकी ताल संरक्षण तथा विकास प्राधिकरणसमेत गठन गरी काम पनि शुरु गरिसकेको अवगत गराउँदै मुख्यमन्त्री गुरुङले सन्देशमा भने “अन्तर्राष्ट्रिय महत्व भएका पोखरा उपत्यकाका नौ वटा ताललाई रामसार सूचीमा सूचीकृत गर्न सक्नु हामी प्रदेशवासीका लागि खुशीको खबर हो ।” उनले फेवातालको चार किल्ला निर्धारण गर्न, सीमाङ्कन र नक्साङ्कन गर्न एउटा समिति बनाएर प्रदेश सरकारले कामको थालनी गरिसकेको उल्लेख गरे । ताल संरक्षण गर्न सरकारको एक्लो प्रयासले मात्र पुग्दैन । यसका लागि निजी क्षेत्र मुख्य गरी पर्यटन व्यवसायी, नागरिका समाज र सञ्चार क्षेत्रको पनि ठूलो भूमिका हुन्छ सिमसार क्षेत्र संरक्षणका लागि सबैको साथ र सहयोग अपरिहार्य भएको शुभकामना सन्देशमा उल्लेख छ ।

कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेश आर्थिक मामिला तथा विकासमन्त्री किरण गुरुङले सिमसारमा आँखाले देख्न नसकिने अनगिन्ती जीवजन्तुको वासस्थान भएको बताउँदै यस्ता क्षेत्रको संरक्षणमा सबैको साथ र सहयोग आवश्यक पर्नेमा जोड दिनुभयो । वातावरणमैत्री विकास निर्माणमा जोड दिनुपर्ने आवश्यकता औल्याउँदै जीव र जगत्को भविष्यसँग जोडिएको सिमसार तथा उर्बर भूमि जोगाउनुपर्नेमा उहाँको जोड थियो ।

उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले गण्डकी प्रदेश सिमसार क्षेत्रको संरक्षणका लागि प्रतिबद्ध रहेको उल्लेख गर्दै परम्परागतरुपमा भिराला जमिनमा पोखरी खन्ने, चौतारा निर्माण गरेर वरपीपल रोप्नेजस्ता धार्मिक कार्यले वातावरणीय संरक्षणमा सहयोग पुगेको बताए । जिल्ला समन्वय समिति कास्कीका प्रमुख बैनबहादुर क्षेत्रीले जलाधार क्षेत्रमा जथाभावि गरिने विकास निर्माणले दिनप्रतिदिन सिमसार क्षेत्र साँघुरिँदै गएको बताउँदै वातावरणमैत्री विकास निर्माणको खाँचो आँैल्याए ।

कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य राजीव पहारी, रामजी बराल जीवन र प्रभा कोइराला, ताल संरक्षण तथा विकास प्राधिकरणका कार्यकारी निर्देशक डा अनुप गुरुङ, वन विज्ञान अध्ययन संस्थानका प्रमुख डा विनोदप्रसाद हेज्यू, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव डा महेश्वर ढकाललगायतले सिमसार क्षेत्रको महत्व तथा संरक्षणमाथि प्रकशत पारे ।

सेती जैविकमार्गमा पाइने प्राणी प्रजातिको सूची, मिचाहा प्रजातिको जानकारीसम्बन्धी पुस्तिका विमोचन गरिएको डिभिजन वन अधिकृत केदार बरालले जानकारी दिए । फेवातालको किनारास्थित उक्त पार्कमा पोखरा महानगरपालिका योजना आयोगका उपाध्यक्ष डा रामचन्द्र लामिछानेले आजै सिमसार र पानी विषयमा जनप्रतिनिधि तथा पर्यटन व्यवसायीसँग अन्तक्र्रिया गरिएको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति