आज माघ १९ : राजा ज्ञानेन्द्र शाहले प्रजातन्त्रमाथि ‘कु’ गरेको दिन

काठमाडौँ, १९ माघ । आज माघ १९, प्रजातान्त्रिक व्यवस्थाको अन्त्य गरी तत्कालीन राजा ज्ञानेन्द्रले शाही सम्बोधन मार्फत शासनसत्ता आफ्नो नियन्त्रणमा लिएर ‘राजनैतिक कु’ गरेको दिन । यस दिनलाई कालोदिनका रुपमा सम्झने गरिन्छ ।

संसदीय व्यवस्थाबाट बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारलाई हटाई प्रत्यक्ष निरंकुश शासन व्यवस्था लादेको भन्दै आजको दिनलाई कालोदिनका रुपमा सम्झिने गरिन्छ ।

२०६१ साल माघ १९ गते राजा ज्ञानेन्द्रले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा असक्षम भएको भन्दै अपदस्त गरेर आफ्नै अध्यक्षतामा मन्त्रिमण्डल गठन गरेका थिए ।

दरबार हत्याकाण्ड लगत्तै राजा बनेका ज्ञानेन्द्रले मुलुकमा राजनीतिक अधिकार, मानवअधिकार तथा प्रेस स्वतन्त्रता कुण्ठित गरेर मोबाइल र टेलिफोन लाइन बन्द गराएका थिए भने रेडियोमा समाचार रोक लगाइएको थियो । राजनीतिक दलका नेतालाई नजरबन्दमा राखिएको थियो । तर यो अवस्था धेरै दिन रहन सकेन ।

ज्ञानेन्द्रको यस कदमले जनयुद्ध चलाइरहेको तत्कालीन माओवादी र संसदवादी दलहरुलाई एकजुट बनायो । दलहरु राजाको उक्त प्रत्यक्ष शासनको विरुद्ध एकजुट भए र आन्दोलन चर्किदै गयो । २०६२/०६३ को जनआन्दोलनको सुत्रपात पनि यहि दिनको कदम मानिन्छ ।

२०६२ मंसिरमा दिल्लीमा द्वन्द्वरत माओवादी र तत्कालीन सातदलबीच १२ बुदे समझदारी भएपछि माओवादीसहित ८ राजनीतिक शक्तिले राजसंस्था विरुद्ध आन्दोलन गरेका थिए । त्यहि आन्दोलनको सफलतापछि २ सय ३८ वर्षीय राजसंस्थाको अन्त्य भएको थियो ।

तर निरंकुश राजसंस्था अन्त्य भएको लामो समय भइसक्दा समेत मुलुक संक्रमणकालबाट अगाडि बढ्न सकेको छैन।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति