‘केपी ओलीलाई तह लगाउन सकेनौं’ : प्रचण्ड

काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी शर्मा ओलीको गलत प्रवृत्तिलाई तह लगाउन नसकेकामा आत्मालोचना गरेका छन् ।

पार्टीद्वारा राजधानीमा आयोजित सभामा प्रचण्डले भने ‘प्रधानमन्त्री पदका लागि जे पनि सहमति गर्ने तर कार्यान्वयन नगर्ने ओली प्रवृत्ति रह्यो, केपी ओलीलाई तह लगाउन सकेनौं । यसमा हाम्रो पनि कमजोरी रह्यो ।’

‘मैले सोचेको थिएँ पार्टी एकतापछि र दुई तिहाई ल्याएपछि घोषणापत्रमा भनेजस्तै सबै क्षेत्रमा न्यायको नयाँ युग सुरु हुनेछ । सुशासन र पारदर्शीताको नयाँ युग सुरु हुनेछ । सबै उत्पीडितले राहत पाउनेछन् । हामीले घोषणापत्र जस्तै गर्न नखोजेको पनि होइन । तर सुरुदेखि अभाष भएको थियो, केपीजीले सहमति गर्ने तर कार्यान्वयन एउटा पनि नगर्ने हुन् कि भन्ने’ उनले भने, ‘सत्ता प्राप्तपछि सहमतिअनुसार एउटा पनि काम नगर्ने लक्षण देखिएको थियो । हामीले त्यसका विरुद्ध बहस गरेका थियाै । आज के भन्न चाहन्छु भने हामीले यो तीन वर्षमा केपीलाई तह लगाउन सकेनौं । केपीलाई सम्झाई–बुझाई गरेर उदारतापूर्व उहाँका कतिपय कुरा मान्दा देश अगाडि जाने हो कि भनेर सोच्यौं । त्यो तरिकाले केपी ओली प्रवृत्तिलाई ठिक गर्न सकिने रहेनछ ।’

उनले थपे, ‘सुरुदेखि केपीको गलत प्रवृत्तिका विरुद्ध संघर्ष गर्नुपथ्र्यो, सकिएन । म आज आत्मालोचित हुन चाहन्छु । आज पार्टीभित्रका सहमति मात्रै होइन, देशको संविधान र लोकतान्त्रिक गणतन्त्रै नमान्ने काम भयो । अब केपी ओलीलाई मात्रै दोष दिएर चोखै हुँदैनौं हामी । अब म जनतालाई साक्षी राखेर प्रतिज्ञा गर्छु कि अब केपी प्रवृत्तिप्रति उदार भएर भित्रभित्र संघर्ष गर्ने तर, प्रवृत्तिलाई अगाडि बढ्न दिने भुल गर्ने छैनौं । त्यसो गरेर फाइदा हुँदो रहेनछ । त्यतिबेलै संघर्ष गरेको भए बेलैमा नांगिन्थे कि भन्ने फर्केर हेर्दा लाग्छ । तर हाम्रो कमजोरीलाई, उदारतालाई कमजोरी ठान्ने जुन दुस्साहस उनले गरे, त्यसले हामी तपाईहरुको अगाडि आउन वाध्य भयौं ।’

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board