देशभरका थप २० स्थानमा ‘भूकम्प मापन स्टेशन’ निर्माण

काठमाडौं, २ माघ । गोरखा भूकम्पपछि देशका विभिन्न बीस स्थानमा ‘भूकम्प मापन स्टेशन’ निर्माण गरिएको छ । विसं २०७२ वैशाख १२ मा गएको गोरखा भूकम्पपछि मापनका लागि विभिन्न देशको सहयोगमा जोखिममा रहेका नेपालका बीस स्थानमा ‘भूकम्प मापन स्टेशन’ निर्माण गरिएको हो ।

सरकारले भूकम्पको जोखिमलाई दृष्टिगत गरी चीन सरकारको सहयोगमा १०, जापान सरकारको सहयोगमा आठ र थाइल्याण्डको रायम्स कम्पनीको सहयोगमा दुई स्थानमा ‘भूकम्प मापन स्टेशन’ निर्माण गरेको हो । चीन सरकारको सहयोगमा सङ्खुवासभा, सोलुखुम्बु, रसुवा, लमजुङ, मुस्ताङ, डोल्पा, मुगु, बाजुरा, दार्चुलालगायत जिल्लामा ‘भूकम्प मापन स्टेशन’ निर्माण गरिएको खानी तथा भूगर्भ विभागअन्तर्गत रहेको भूकम्प मापन तथा भूकम्पीय जोखिम मूल्याङ्कन शाखाका प्रमुख भरतप्रसाद कोइरालाले जानकारी दिए ।

त्यस्तै जापान सरकारको सहयोगमा सिन्धुली, बारा, चितवन, नवलपरासी, स्याङ्जा, म्याग्दी, कपिलवस्तु, रोल्पा तथा रायम्सको सहयोगमा महोत्तरी र दाङमा स्टेशन निर्माण गरिएको छ । गोरखा भूकम्पअघि नेपालका २२ स्टेशनले मात्र भूकम्प मापन गर्दै आएकामा अहिले २० स्टेशन थपिएसँगै ४२ स्टेशन पुगेका छन् । विस २०३७ सालमा ललितपुरको फूलचोकी डाँडामा पहिलो भूकम्प मापन स्टेशन निर्माण गरिएको थियो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका भूकम्पविद् मुकुन्द भट्टराईले भूकम्प मापन स्टेशन निर्माण भएसँगै देशभर जाने भूकम्पको डाटा मापन गर्न सहज हुने बताए । “भूकम्प मापन गर्ने धेरै स्टेशन निर्माण भएसँगै सानाभन्दा साना भूकम्पसमेतको मापन गर्न सहज भएको छ”, उनले भने । नेपाल हिमालय हिमश्रृङ्खलामा रहेको मुलुक भएकाले पनि यस क्षेत्रमा अन्य क्षेत्रको तुलनामा धेरै भूकम्प जाने गरेको केन्द्रले जनाएको छ ।

गोरखा भूकम्पसँगै नेपालमा चार रेक्टरभन्दा माथिका ५५० पराकम्पन गइसकेका छन् । यस्तै नेपालका पूर्वी तथा पश्चिमी क्षेत्रमा नयाँ भूकम्प जाने क्रम बढेको छ । हाल राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौर र राष्ट्रिय भूकम्प मापन केन्द्र सुर्खेतबाट देशरभरको भूकम्पका बारेमा जानकारी लिइँदै आइरहेकोे छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति