काठमाडौं २५ पौष । नेपाल विद्युत प्राधिकरणले भारतको टनकपुर बिन्दुबाट थप १५ मेगावाट विद्युत् आयातका लागि अनुमति पाएको छ ।
भारतको केन्द्रिय विद्युत प्राधिकरण सीईएले टनकपुरबाट थप विद्युत् ल्याउन नेपाल विद्युत प्राधिकरणलाई अनुमति दिएको हो । विद्युत प्राधिकरणले टनकपुरबाट ७० मेगावाटसम्म विद्युत् आयात गरिरहेको थियो । सीईएले अनुमति दिएसंगै अब आवश्यक परेको बेला टनकपुरबाट ८५ मेगावाटसम्म विद्युत् ल्याउन सकिने नेपाल विद्युत प्राधिकरणले जनाएको छ । प्राधिकरणले टनकपुरबाट खरिद गर्ने विद्युतको प्रतियुनिट मूल्य ६ रुपैयां ६२ पैसा रहेको छ ।
नेपालले महाकाली सन्धिअनुसार टनकपुरबाट वार्षिक ७ करोड युनिट विद्युत निःशुल्क पाउदै आएको छ भने बाकी व्यापारिक मूल्यमा खरिद गर्दै आएको छ । प्रसारण लाइनको क्षमताले नधान्दा पूर्वबाट पश्चिमतर्फ विद्युत् पठाउन नसकिरहेको अवस्थामा टनकपुरबाट थप विद्युत् ल्याउन पाएपछि अब पश्चिम क्षेत्रको विद्युत आपूर्तिमा सुधार आउने कामु कार्यकारी निर्देशक शाक्यको भनाई छ ।
COMMENTS