काठमाडौं, २२ पुष । काठमाडौंमा धारिलो हतियार कैँची प्रहार गरी एक युवकको हत्या गरेको आरोपमा भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका—१६ बाइपास ओरालो बस्ने भारतको मोतिहारी घर भएका २५ वर्षीय सुवोध मियाँ रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मंगलबार राति सुवोधले कैँची प्रहार गर्दा भारतको मोतिहारी घर भएका २५ वर्षीय कलाम मियाँ गम्भीर घाइते भएका थिए । उनको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मंगलबार राति नै मृत्यु भएको थियो ।
कलाममाथि कैँची प्रहार गरेपछि टाटा सुमो रिजर्भ गरेर भाग्दै गरेको अवस्थामा सुवोधलाई इलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरी टोलीको सहयोगमा बुधबार बिहान नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर काठमाडौैंका डीएसपी प्रमेश विष्टले बताए । पक्राउ परेका सुवोधमाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया