काठमाडौं, २१ पुस । कतारमाथि लगाएको नाकाबन्दी साउदी अरबले हटाएको छ । साउदी अरबले कतारमाथि तीन वर्षअघि नाकाबन्दी लगाएको थियो ।
खाडी देशहरुमा यसलाई ठूलो घटना मानिएको छ किनभने कतारसँग धेरै छिमेकी देशहरुको विवाद रहँदै आएको छ ।मंगलबार साउदी अरबमा हुने गल्फ को-अपरेसन काउन्सील ९जीसीसी०सम्मेलनको पूर्वसन्ध्यानमा साउदीले कतारमाथिको प्रतिबन्ध हटाउने निर्णय गरेको हो । जीसीसीको सम्मेलनमा खाडी देशका ६ देश सहभागी हुने छन् ।
सम्मेलनमा साउदी र कतारबीचको विवाद समाधान सम्बन्धी सम्झौतामा हस्ताक्षर हुने अमेरिकी अधिकारीहरुलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । कतारले आतंकवादलाई बढावा दिएको आरोप छिमेकी देशहरुले लगाएपछि साउदी अरबले हवाई र स्थल नाकाबन्दी गरेको थियो ।
कतारमाथि व्यापारिक, राजनीतिक र यात्रा प्रतिबन्ध पनि लगाइएको थियो । यो प्रतिबन्धमा बहराइन, इजिप्ट लगायतका देशहरुले पनि साथ दिएर कतारमाथि घेराबन्दी गरेका थिए । कतार सानो तर धनी खाडी देश हो ।
उसमाथि जिहादी आतंकवादीलाई साथ दिएको आरोप लाग्ने गरेको छ । सो आरोपको कतारले खण्डन पनि गर्दै आएको छ । कतारमाथिको प्रतिबन्ध लामो कूटनीतिक प्रयासबाट हटाउन सम्भव भएको हो र यसमा कुवेतले अहम् भूमिका निर्वाह गरेको बीबीसीले उल्लेख गरेको छ ।
प्रतिक्रिया