काठमाडौं, १७ पुष । नेकपा ओली समूहका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले राजा चाहिन्थ्यो भन्नेलाई ठाउँ दिन राष्ट्रपतिको हुर्मत लिन खोजिएको बताएका छन् ।
प्रवासी नेपाली एकता मञ्चको भर्चुअल भेलालाई सम्बोधन गर्दै उनले भने ‘लोकतान्त्रिक प्रणाली ठीक होइन, संघीयता ठीक होइन भन्ने निष्कर्ष निकाल्न उद्दत हुनु भएको छ । राजा चाहिन्थ्यो भन्नेलाई ठाउँ दिन राष्ट्रपतिको हुर्मत लिन खोजिएको छ’ ओलीले भने ।
यस्तै ओलीले बहुमत अल्पमतको टुंगो चुनावपछि हुनेसमेत बताएका छन् । प्रचण्ड–माधव समूहले बहुमत रहेको भन्दै नेकपाको अधिकारिकता दाबी गरेपछि ओलीले भने बहुमत अल्पमतको टुंगो अहिले नहुने बताएका छन् । उनले भने, ‘उहाँहरु बहुमत छ भनेर सडकमा कराइरहनु भएको छ । बुहमत अल्पमतको टुंगो अहिले हुन्न, चुनावपछि हुन्छ । चुनावपछि बहुमत को हो, अल्पमत को हो ? प्रमुख पार्टी को हो ? तपाई हामीले देख्ने छौं ।’
ओलीले प्रचण्ड–माधव समूहले दुई अध्यक्ष घोषणा गरेकोमा समेत व्यंग्य गर्दै आफैं पार्टीको नवौं महाधिवेशनबाट छानिएको नेता भएको र दुई पार्टी मिल्दा दुबैको सम्मान होस् भनेर दुई अध्यक्षको व्यवस्था गरेको बताए । उनले भने, पद लोलुपताको पनि हद हुन्छ १ कुन मञ्चबाट, कुन महाधिवेशनबाट पार्टी ?’
पार्टीमा देखिएको समस्याको सकारात्मक निकास निकालौं भनेर आफूले धेरै काँध थापेको तर केही नेता अलग भएको उनले बताए । पार्टी फुटेको नभई केही नेता अलग भएर सडकमा गएको र ठूला नेता हुँ भन्नेहरुबाट तमासा देखाउने काम भएको ओलीको भनाई छ ।
यस्तै ओलीले सूर्य चिन्ह र नेकपा पनि आफ्नै समूहको हुने दावीगरेका छन् । ‘उहाँहरु सूर्य चिन्ह पाउँ भनेर निर्वाचन आयोगमा जानुभएको थियो,आयोगले निवेदनको रित नपेगेको, कानुन उल्लेख नभएको, फिर्ता पठाएको छ हिजो’ ओलीको भनाइ थियो ।
उनले सूर्य चिन्ह पनि आफ्नै भएको भन्दै कार्यकर्तालाई चिन्ता नगर्न आग्रह गरे । ‘सूर्य चिन्ह २०४८ देखि हाम्रो हो, एक दुई जना मान्छे छोड्दैमा सूर्य कहिँ जाँदैन । सूर्य चिन्ह हामीसँगै छ, बहुमत हामीसँगै छ’ ओलीले भने, ‘चुनावै हुँदैन चाहिँदैन भन्नेलाई किन चाहियो सूर्य चिन्ह ?’
यो पनि…
प्रतिक्रिया