काठमाडौं, १५ पुष । चिनियाँ कम्पनी नेशनल फार्मास्युटिकल ग्रुप (सिनोफार्म)ले कोरोनाभाइरसविरूद्ध बनाएको खोप झन्डै ८० प्रतिशत प्रभावकारी देखिएको छ ।
यसअघि रूस, बेलायत र अमेरिकाका कम्पनीले बनाएका कोरोनाविरूद्धका खोपको प्रभावकारिता ९० प्रतिशतभन्दा माथि देखिएको थियो । अमेरिका र बेलायतले आमनागरिकलाई कोरोनाविरुद्धको खोप दिन सुरू गरिसकेका छन्।
सो कम्पनीका अनुसार बुधबार तेस्रो चरणको परीक्षणको प्रारम्भिक विवरणमा आफूले बनाएको खोप ७९.३४ प्रतिशत प्रभावकारी देखिएको हो । यो खोप दुई डोज लगाउनु पर्छ। यो खोपको तेस्रो चरणको परीक्षण युएई, बहराइन, जोर्डन, पेरू र अर्जेन्टिनालगायत देशमा गरिएको थियो।
डिसेम्बर ९ मा युएईका स्वास्थ्य अधिकारीहरूले चिनियाँ खोप ८६ प्रतिशत प्रभावकारी देखिएको बताएका थिए। युएई र बहराइनले चिनियाँ खोपलाई यसअघि नै प्रयोगका लागि स्वीकृति दिइसकेका छन्।
चीनले पनि केही महिनादेखि नै यो खोपको आपतकालीन प्रयोग गरिरहेको छ। अहिले यसको आम प्रयोगका लागि अनुमति मागिएको सो कम्पनीको भनाई छ ।
प्रतिक्रिया